विदेशबाट फर्किनेहरुका लागि व्यावसायिक खेती गर्न नेपालमा प्रशस्त जमिन छ

 जेठ ५, २०७७ सोमबार १५:१४:५९ | गोविन्द गुरुङ
unn.prixa.net

काठमाण्डौ - लकडाउनको कारण अहिले धेरैको आम्दानीको बाटो घटेको छ । त्यही भएर धेरैलाई अन्य चिन्तासँगै आर्थिक चिन्ताले पिरोलेको छ । यो बेला पैसा कमाउने, भएको पैसा पनि जोगाउने र पैसा कमाउनको लागि आफूसँग सीप र क्षमता पनि बढाउनुपर्ने आवश्यकता छ । 

तर अहिले हाम्रो कमाउने बाटाहरु बन्द भएकाले कसरी कमाउने तथा आम्दानी कसरी बढाउनेभन्दा पनि आफूसँग भएको पैसालाई कसरी जोगाउने र कसरी फारो गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । यस विषयमा हामी सबैले सोच्नुपर्छ ।

हामी दालभात, तरकारी र अचारसहित विभिन्न परिकार खाने गर्छौँ । त्यसलाई केही घटाउनुपर्यो । यस्तै बिहान खाजा, दिउँसो खाना, फेरि खाजा र बेलुका खाना । यसरी  खाइरहनुभएको थियो भने त्यसलाई केही कम गर्नुपर्यो । यस्तो अवस्थामा हामीले आफूसँग बचत रहेको रकम नभएकाहरुलाई सहयोग गर्नुपर्छ ।

लकडाउनको कारण बाहिर गएर केही काम गर्न सक्ने अवस्था नभएकोले घरमा बसेर रचनात्मक काम गर्न सकिन्छ । जस्तो कविता लेख्ने, चित्र बनाउने, किताब पढ्ने, सङ्गीत साधना गर्ने अथवा खेतबारी छ भने त्यहाँ गएर काम गर्न सकिन्छ । म पहिले दुबो लगाएको ठाउँमा अहिले आफैँले खनेर मकै भटमास लगाउन सुरु गरिसकेको छु ।

यसले थोरै भए पनि उत्पादन गर्न सक्छौँ । भोलि हामीले एक सय वटा मकैको घोगा मात्रै उत्पादन गर्न सक्यौँ भने पनि गुलाब फुलेर त्यसै ओइलाएर झर्नुभन्दा राम्रो भयो नि । आफ्नो घरको वरपर सानो साँघुरो जति ठाउँ छ त्यसलाई खनेर केही न केही खानेकुरा लगाउन सकिन्छ । 

त्यस्तै बारी छैन भने छतमा या कौसीमा दुई चार वटा गमला ल्याएर त्यसमा गोलभेँडा र खुर्सानी लगाउन सकिन्छ । यसले थोरै भएपनि बचत हुन्छ । एकातिर बजार गएर तरकारी किन्दा स्वास्थ्यमा जोखिम बढ्ने हुन्छ । अर्कोतिर आफैँले उत्पादन गर्दा पैसाको बचत पनि हुन्छ । हामीले खानेकुरा उत्पादन गर्न सक्यौँ भने त्यसमा खर्च हुने पैसा भविष्यको लागि बचत गर्न सकिन्छ । 

यस्तै अहिले मानिसहरु रोजगारीको लागि पढाइलेखाइ गर्ने, नयाँ कुरा सिक्ने र भौतिक रुपले सम्पन्न हुने खालका काममा लागिरहेका देखिन्छन् । एक हदसम्म यो राम्रो हो । तर त्योसँगै मानिसले प्रकृतिसँगको उत्पादन सम्बन्ध बिर्सिदै गएको छ । जस्तो मेरो छोरालाई मकै कहिले रोप्ने, काउलीको बेर्ना कसरी राख्ने भन्ने केही थाहा छैन । पढाइलेखाइ गर्नेे, जागिर खाने, व्यवसाय गर्ने र उद्योगधन्दा चलाउनेतर्फ उन्मुख हुँदै जाँदा मानिसहरुले प्रकृतिसँगको सम्बन्धलाई कायम राख्दै उत्पादनलाई बढाएर जीवन सहज बनाउने कुरा बिस्तारै बिर्सिदै गएका छन् ।

जतिसुकै पढेपनि साहित्य सिर्जना गर्न र जेसुकै गरेपनि प्रकृतिसँगको उत्पादन सम्बन्धलाई हामीले कायम राख्नुपर्छ । केही भएन भने वनमा गएर कन्दमुल खोजेर खान सक्नेसम्मको ज्ञान हामीले राख्नुपर्छ । कन्दमुल भनेको के हो, त्यो कसरी खोज्नुपर्छ र कसरी खानुपर्छ भन्नेबारे हामी जानकार हुनुपर्छ । त्यस्तो सीप हामीले सिक्नुपर्छ र पुस्तान्तरण पनि गर्दै जानुपर्छ ।

प्रकृतिलाई प्रविधीकरण गरी उत्पादन बढाएर दुई जनालाई पुग्ने ठाउँमा ६ जनालाई पुग्ने बनाउनुपर्छ । हाम्रो देशमा एक रोपनी जग्गामा ४/५ मुरी धान फल्छ । तर चीन र भियतनाममा एक रोपनी जग्गामा १५/२० मुरी धान फल्छ । यो सबै प्रविधिको कारणले भएको हो । 

त्यस्तो खालको प्राविधिक ज्ञान हामीले आर्जन गर्नुपर्ने हुन्छ । त्यस्तै नेपाल खेतीकिसानी गर्नको लागि वरदान पाएको देश भएकोले यहाँ हरेक मौसममा नयाँ नयाँ खेती गर्न सकिन्छ । तर निर्वाहमुखी र परम्परागत खेती प्रणालीको कारण उत्पादन बढ्न सकेको छैन । त्यसलाई बढाउनको लागि प्राविधिक ज्ञान लिनुपर्ने र नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता पर्छ । 

आफूसँग केही जग्गाजमिन र सम्पत्ति नभए पनि हातमा सीप छ भने परिवारलाई पाल्न सकिन्छ । तर आफूसँग कुनै सीप छैन भने आफूसँग भएको सयौँ रोपनी जमिन पनि एक दिन सकिएर जान्छ र जीवन दुःखमय हुन्छ । 

त्यही भएर हातमा कुनै पनि प्रकारको सीप हुन जरुरी छ । त्यो सीप अथवा क्षमता धेरै खाले हुन सक्छ । खेती सबैभन्दा जान्नैपर्ने अपरिहार्य कुरा हो ।
जस्तो पहिले कोही होटल व्यवसाय गरिरहेका थिए । तर अहिले होटल व्यवसाय बन्द छ । अहिले चल्ने भनेको तरकारी पसल र फलफुल व्यवसाय हुन् । त्यही भएर फरक खालको व्यवसाय गर्न आफूलाई अगाडि बढाउनुपर्ने देखिन्छ । 

रोगव्याधी पहिले पनि आएको थियो, फेरि पनि आउला । यस्तो खालको महामारी फेरि पनि आयो भने त्यस अवस्थामा आफूलाई कसरी उत्पादनमूलक बनाउने र कसरी जीवनलाई सहज बनाउने भन्ने सम्बन्धमा अहिलेदेखि नै फरक क्षमता विकास गर्दै जानुपर्छ । त्यही भएर यो आफूमा फरक खालको क्षमता विकास गर्ने समय हो ।

जस्तोसुकै लकडाउन भएपनि म यो तरिकाले मेरो जीवन जिउन सक्छु, मेरो परिवारको गुजारा गर्न सक्छु भन्ने खालको क्षमता विकास गर्नुपर्छ । 
यस्तै अहिले ठूला साना व्यापार व्यवसाय गर्नेहरुलाई मार परेको छ । हरेक क्षेत्रमा सबैलाई असर परेको छ । यो अवस्थामा व्यवसाय सञ्चालन गर्नको लागि वैकल्पिक उपायहरु के के हुन सक्छन् ? त्यसबारे सोच्नुपर्ने भएको छ । 

त्यसमा सरकारले गर्ने, बैंकले गर्ने आर्थिक सहयोगहरु आफ्नो ठाउँमा छ । तर लकडाउनपछि यो व्यवसायलाई खोल्दा कसरी सञ्चालन गर्न सकिन्छ, कसरी सुचारु गर्ने, अहिले परेको घाटालाई कसरी परिपूर्ति गर्ने भन्ने कुरामा दिमाग खियाइरहनुुपर्छ ।

बन्द भयो, बिग्रियो, खत्तम भयो भनेर चिन्तित भएर बस्ने होइन । आफ्ना ग्राहक र उत्पादन सम्बन्ध भएको सबै क्षेत्रसँग सम्पर्क गर्नुपर्यो । 
यदि गर्दैआएको व्यापार चल्नै सक्ने अवस्था छैन भने त्यसमा पनि विकल्प सोच्नुपर्छ । विकल्पमा जे पनि हुन सक्छ । जस्तो त्यही व्यवसाय फरक ढङ्गले खोल्ने या फरक कम्पनी खोल्ने योजना बनाउन सकिन्छ । 

यस्तै नेपालको अर्थतन्त्रमा २७ प्रतिशत रेमिट्यान्सको योगदान छ । विदेशमा रहेका झण्डै चालिस लाख नेपालीले पठाएको रकम हो यो । अब उनीहरुमध्ये धेरै नेपाल फर्किने छन् । उनीहरुको लागि हामीसँग प्रशस्त जमिन छ । जमिनदारहरुको जमिन भाडामा लिएर काम गरे पनि हुन्छ । आफ्नै जमिनमा काम गरे पनि हुन्छ । यस्तै वनभित्र पनि खेती हुन्छ तर नेपालमा त्यस्तो अभ्यास भएको छैन । अब त्यतातर्फ लाग्नुपर्ने हुन्छ । 

अन्तिम अपडेट: जेठ १८, २०७७

गोविन्द गुरुङ

गुरुङ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया