पोखराका परोपकारी जसले हजारभन्दा बढीलाई राहत र ८० परिवारलाई आश्रय दिएका छन्

 जेठ ११, २०७७ आइतबार १८:२७:४८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - पोखरा महानगरपालिकाको प्रर्स्याङमा कोठा भाडा गरेर बस्दै आउनुभएका अर्जुन थापालाई लकडाउन सुरु भएपछि घरबेटीले कोठाबाट निकालिदिए । पोखरामा गाडी लोड/अनलोडको काम गर्दै आउनुभएका धरान स्थायी घर भएका थापा १३ वर्षदेखि पोखरामा बस्दै आउनुभएको छ । लकडाउन सुरु भएसँगै उहाँको काम रोकियो । अलिअलि भएको पैसा पनि सकियो । तीन जनाको परिवारलाई दुई छाक खाना पुर्याउन नसकिने अवस्था आयो । त्यसपछि उहाँले फेसबुकमा ‘अप्ठ्यारोमा परेका कोही भए सहयोग गर्ने’ भनेर राखिएको भिडियो देख्नुभयो । त्यहाँ राखिएको सम्पर्क नम्बरमा फोन गर्दा पोखराका व्यवसायी युवराज खतिवडाको सम्पर्कमा आउनुभयो र उहाँको उद्दार भयो । 

यस्तै प्रर्स्याङमै बस्दै आउनुभएका नवलपरासीका कृष्ण विकलाई पनि घरबेटीले कोठाभाडा तिर्न नसकेको भनेर निकालिदिए । फलामसम्बन्धी काम गर्दै आउनुभएका उहाँको व्यवसाय लकडाउन सुरु भएपछि ठप्प भयो । श्रीमती र भाइसँग बस्दै आउनुभएका उहाँलाई लकडाउन सुरु भएपछि खान र बस्न निकै समस्या भयो । उहाँको लागि पनि व्यवसायी खतिवडाले खाने र बस्ने व्यवस्था मिलाउनुभएको छ । 

बस्न र खान व्यवस्था

अर्जुन थापा र कृष्ण विकजस्तै पाल्पाका नेत्र खाम्चा लकडाउनपछि निकै समस्यामा पर्नुभयो । खाम्चालाई पनि खतिवडाले सहयोग गर्नुभयो । भाषा कक्षा पढ्न र सानोतिनो जागिर गर्न भन्दै पाल्पादेखि पोखरा झरेका खाम्चालाई उहाँ बस्दै आएको होटलले निकालिदियो । लकडाउन सुरु भएको ४/५ दिनसम्म उहाँ चिप्लेढुगामा रहेको त्यही होटलमा बस्नुभयो ।  उहाँसँग भएको २५ सय रुपैयाँ सकिएपछि न पाल्पा फर्किने पैसा भयो न होटलमा बस्ने खर्च । खाम्चाले खतिवडालाई सम्पर्क गरेपछि उहाँको पनि खाने र बस्ने व्यवस्था खतिवडाले गर्नुभएको छ । 

थापा, विक र खाम्चाजस्तै समस्यामा परेका ८० परिवार खतिवडाले मजदुरका लागि बनाउनुभएको घरमा बस्दै आउनुभएको छ । खतिवडाले लकडाउनमा बस्न र खान समस्या भएका गरिब र असहायलाई पोखरा महानगरपालिका वडा नम्बर ५, प्रर्स्याङमा बस्न र खान निःशुल्क व्यवस्था गर्नुभएको छ । 

सटर​ भाडा छुट

खतिवडाको जन्मघर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ हो । पोखराका विभिन्न बजार क्षेत्रमा खतिवडाका व्यावसायिक कम्प्लेक्स तथा मिनी मार्केट छन् । सिद्धार्थ चोकमा रहेको तरकारी र फलफूल पाइने सब्जीमण्डी र पोखराकै चर्चित पृथ्वी चोकमा रहेको पोखरा सस्तो बजारका सटर व्यवसायीलाई भाडामा लिनुभएको छ । त्यहाँ व्यवसाय गर्ने सबैलाई लकडाउन अवधिको भाडा उहाँले छुट दिनुभएको छ । 

लकडाउन सुरु भएको १३ दिनपछि उहाँले राहत बाँड्न थाल्नुभयो । अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई राहत बाँडिसक्नुभएको छ । आफ्ना मजदुर राख्न एक वर्षअगाडि उहाँले एक सय कोठाको घर बनाउनुभएको थियो । भाडा तिर्न नसकेर भाडाका घरबाट निकालिएकाहरुलाई उद्धार गरी उहाँले त्यही घरमा निःशुल्क आवास र खानाको व्यवस्था गर्नुभएको छ । 

गर्भवती, सुत्केरी र विद्यार्थीलाई प्राथमिकता 

उहाँले अहिलेसम्म ८० परिवारलाई आफ्नो घरमा ल्याएर राख्नुभएको छ । गर्भवती, सुत्केरी र विद्यार्थीलाई पहिलो प्राथमिकता दिनुभएको छ । कसैलाई समस्या परे फोन गर्न उहाँ आग्रह गर्नहुन्छ । पोखराका मात्रै होइन, देशका जुनसुकै ठाउँमा समस्यामा परेका नागरिकले सम्पर्क गरेमा आफूले सकेको सहयोग गर्ने उहाँ बताउनुहुन्छ । पोखरा र पोखरावरिपरि  समस्यामा परेका गर्भवती, सुत्केरी तथा विद्यार्थीलाई आफ्नै गाडीमा राखेर उहाँले ल्याउने गर्नुहुन्छ । उहाँले कतिपय विद्यार्थी र मजदुरको घरभाडासमेत तिरिदिएर आफ्नो घर ल्याउनुभएको छ । 

मानवताभन्दा ठूलो केही छैन 

व्यवसायी खतिवडा भन्नुहुन्छ, ‘संसारमा मानवताभन्दा ठूलो केही हुन सक्दैन । सहयोग गर्नका लागि ठूलो स्रोत हुनुपर्दैन । मन ठूलो भए पुग्छ ।’ कोरोना महामारीमा जीवन जोगिए पैसा पछि पनि कमाउन सकिन्छ  र सहयोग गर्न आम्दानीको ठूलै स्रोत हुनुपर्छ भन्ने उहाँलाई लाग्दैन । आम्दानीको स्रोत भनेको मन हो । मनले चाह्यो भने थोरै आम्दानी भएपनि सहयोग गर्न सकिन्छ  । 

खतिवडाले सरकारी जग्गा भाडामा लिएर सस्तो बजारको लागि स्टलहरु निर्माण गरी भाडामा लगाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘स्टल भाडामा लिएका एक हजारभन्दा बढी व्यवसायीबाट मैले लकडाउनपछिको भाडा लिएको छैन । उनीहरुले पसल खोल्न पाएका छैनन् । त्यसले भाडा तिर्न समस्या छ ।’
‘म साना व्यवसायीहरुको लकडाउन अवधिको भाडा लिन्नँ । अहिले उनीहरुलाई धरासायी बनाएर विस्थापित गर्ने होइन, स्थापित गर्ने बेला हो,’ उहाँले थप्नुभयो ।

सबैले सहयोग गर्नुपर्छ  

खतिवडाले आफ्ना मजदुरहरु घरमै भएपनि तलब दिइरहेको र अरुबाट राहत नलिन पनि आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘आफ्नो कामदारको व्यवस्था रोजगारदाताले गर्नुपर्छ । रोजगारदाताले केही वर्षलाई पुग्ने आम्दानी गरिसकेको हुन्छ । ऋण लिन बैँक, वित्तीय संस्था र साथीभाइले उसलाई पत्याउँछन् । तर सामान्य मजदुरलाई कसैले पत्याउँदैन । त्यसैले मजदुरलाई कामबाट निकाल्ने, पारिश्रमिक नदिने र पारिश्रमिक घटाउने काम गर्नु हुँदैन ।’ 

लकडाउनमा समस्यामा परेकाको सहयोग गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खतिवडा बताउनुहुन्छ । दुःख र अप्ठ्यारोमा परेकाको सहयोग नै सबैभन्दा ठूलो धर्म भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘जीवनको भरोसा छैन । कोरोनाले को ठूलो को सानो भन्दैन । त्यसैले भएका कुरा बाँडेर खानुपर्छ र अप्ठ्यारोमा परेकाको सहयोग गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया