बर्दिया अस्पतालका १४ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा

 जेठ १३, २०७७ मंगलबार १५:४:० | भावुक योगी
unn.prixa.net

 बर्दिया – जिल्ला अस्पताल गुलरियाका १४ जना स्वास्थ्यकर्मीलाई क्वरेण्टीनमा राखिएको छ । क्वरेण्टीनमा बसेको एक युवकमा कोरोना देखिएसँगै १४ जनालाई क्वरेण्टीनमा राखिएको हो । 

गुलरिया १ खैरापुरको क्वरेण्टीनमा बसेका १८ वर्षीय युवकलाई ज्वरो आएपछि उपचारकाे लागि जिल्ला अस्पतालमा लगिएका बेला उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ती युवक भारतकाे बेङ्गलाेरबाट आएका थिए । 

स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले स्वास्थ्यकर्मीको आजै स्वाब सङ्कलन गर्ने तयारी भइरहेको बताउनुभयो । अहिलेसम्म दुई सय दुई जनाको रिपोर्ट दाङबाट आउन बाँकी छ । पछिल्लो समय बर्दियाबाट स्वाब सङ्कलन गरी दाङ पठाइएको थियो । राजापुरबाट थप ६५ जनाको सोमबार स्वाब सङ्कलन गरिएको छ ।

पोजेटिभ रिपोर्ट आएसँगै कोरोना सङ्क्रमित युवासँग सम्पर्कमा रहेका १४ जना स्वास्थ्यकर्मीलाई क्वरेण्टीनमा राखेर अस्पताल सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । 

आकस्मिक सेवाबाहेक अरु सबै सेवा नतिजा नआउन्जेलसम्म बन्द गरिएको उहाँले बताउनुभयो । बर्दियामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । गुलरिया नगरपालिकामा चार, बाँसगढी नगरपालिकामा एक, राजापुर नगरपालिकामा एक र बढैयाताल गाउँपालिकामा एक जना गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया