एसईईको मोडालिटी परिवर्तन हुन सक्छ, परीक्षा नै नहुने होइन

 जेठ १४, २०७७ बुधबार १८:९:२४ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - गएको चैत ६ गते हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसले निम्त्याएको परिस्थितिले स्थगित भएको छ । परीक्षा स्थगित भएको २ महिना नाघिसक्यो । लकडाउन लम्बिँदै जाँदा परीक्षा नै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । तर सरकार परीक्षा सम्पन्न गर्न विभिन्न विकल्पबारे सोच्दैछ । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा विद्यालयको पठनपाठन पनि प्रभावित भइरहेको छ । अवरुद्ध पढाइ सुचारु गर्नेबारे सरकारले मोडालिटी तयार गर्न  सकिरहेको छैन । यसै विषयमा केन्द्रित रहेर टेकमान शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग कुराकानी गर्नुभएको छ ।

कोरोनाले निम्त्याएको परिस्थितिको कारण एसईई परीक्षाबारे अन्योल बढिरहेको छ । यसबारे सरकारको तयारी के छ ?

एसईई परीक्षा नहुने भन्ने होइन । स्थगित मात्रै भएको हो । विद्यार्थीले परीक्षा दिन आउने वातावरण बनेपछि परीक्षा हुन्छ । तर यसको मोडालिटी परिवर्तन हुन सक्छ । परीक्षा नै नहुने होइन ।

सङ्क्रमण बढेसँगै लकडाउन लम्बिँदै गयो भने के गर्नुहुन्छ ? 

पहिलो प्राथमिकता विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा हो । कतिपय ठाउँमा लकडाउन खुकुलो भयो भने त्यहाँ परीक्षा सञ्चालन गर्न सक्छ । स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा हामीले कसरी अघि बढ्ने भन्ने तयारी गर्ने हो । अहिलेको अवस्थामा वैकल्पिक विधिहरु प्रयोग गर्नुपर्ने हुन सक्छ ।

परीक्षा हुन सकेन भने विद्यार्थीहरुको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

अनलाइनमार्फत विद्यार्थीहरुको मूल्याङ्कन गर्न सकिन्छ । त्यो पद्धति विज्ञहरुले भनेको आधारमा तयार गरिने छ । भर्ना भएकै दिनमा प्रश्नपत्र दिएर जाँच लिने अभ्यास पनि छन् कतिपय देशमा । परीक्षाको मोडेल परिवर्तन हुन सक्छ । तपाईंले भन्नेजस्तै परीक्षा नै नहुने होइन ।

यस विषयमा मन्त्रालयले केही तयारी गरेको छ ?

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले गर्ने काम भनेकै मन्त्रालयले गर्ने काम हो । बोर्ड अध्यक्षको संयोजकत्वमा कार्यदल बनेको छ । उहाँहरुले विभिन्न विकल्प ल्याउनुभएको छ । विकल्पहरुमाथि छलफल भइरहेको छ । कुन ठिक र कस्तो गर्दा ठिक हुन्छ भन्ने विषयमा निर्णय गर्न कामहरु भइरहेका छन् ।

कस्ता खालका विकल्पहरु आएका छन् र त्यसमाछि कस्तो छलफल भइरहेको छ ?

हामीसँग अहिले ७/८ वटा विकल्पहरु सुझाबका रुपमा आएका छन् । पहिलो विकल्प भनेको विद्यार्थीहरुले डेरा गरेर बस्नु पर्नेगरी परीक्षा केन्द्र तोक्नु हुँदैन ।  अर्को भनेको अहिलेका परीक्षा केन्द्रहरुमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले ती केन्द्रहरुमा यो सम्भावना छैन । अर्को विकल्प, देशभर एकैचोटी परीक्षा नलिएर प्रदेशगत रुपमा लिने । कतिपय देशले आन्तरिक मूल्याङ्कनलाई आधार मानेका छन् । हामी पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । धेरै विकल्पहरु आएका छन् । तर परीक्षा नै नगर्ने भन्ने लाइनमा हामी छैनौँ ।

केही समयअघि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नम्बर चढाउनुपर्ने सुझाव प्राथमिकताका साथ आएको थियो । यो विकल्पमा जान सकिन्छ ?

विभिन्न मोडालिटीमध्ये यो पनि एक हो । स्कुललाई नै परीक्षा लिन दिनुपर्छ भन्ने पनि छ । अनिवार्य विषयको मात्रै परीक्षा लिने कुरा पनि आइरहेको छ । भोलि शिक्षाको विषय श्रम बजार र अरु क्षेत्रसँग पनि जोडिन्छ । उच्च शिक्षामा जाने कुराहरु हुन सक्छन् । भोलि कानुनी जटिलता नआओस् भनेर नै हामीले घनीभूत छलफल गरिरहेका छौँ । परीक्षा नै गरिएन भने पछि विद्यार्थीहरुको भविश्यमा समस्या आउँछ कि भन्ने पनि छ । त्यसैले कुनैपनि विकल्प अपनाउँदा आइपर्ने समस्याबारे पनि जानकार हुनुपर्ने भएकोले हामी त्यतातिर पनि व्यस्त भइरहेका छौँ ।

परीक्षा कहिले हुन्छ, हुन्छ कि हुँदैन, पढाइको यात्रा अब कसरी अघि बढ्छ जस्ता जिज्ञासाले विद्यार्थीहरुमा धेरै उकुसमुकुस भइरहेका छन् । उनीहरु ढुक्क भएर बस्ने अवस्था कहिले आउला ?

एसईईभन्दा तलका विद्यार्थीको परीक्षा विद्यालयले लिने हो । उनीहरुको नतिजा प्रकाशन भएर पाठ्यपुस्तक पालिकाहरुमा पठाइसकेका छौँ । पाठ्यपुस्तक सुरक्षित तवरले विद्यार्थीसम्म पुर्याउने जिम्मा सम्बन्धित विद्यालयको हो । दोस्रो कुरा, पाठ्यपुस्तक पाएका छैनन् भने दाइदिदीसँग सापटी मागेर पनि अध्ययन गर्न सकिन्छ । तेस्रो कुरा, हामीले विद्यार्थीका लागि अभ्यासका किताबहरु पनि बनाएका छौँ । त्यो पनि छिट्टै पालिकामार्फत विद्यार्थीको हात पुर्याउँदै छौँ । 
स्वअध्ययन कसरी गराउने भन्नेबारे पनि अध्ययन भइरहेको छ । रेडियो, टेलिभिजन र अनलाइनमार्फत पनि विद्यार्थीहरुलाई पढाउने काम भइरहेको छ । समुदायमा रहेका शिक्षकहरुले समुदायमै रहेका नजिकका विद्यार्थीहरुलाई सहजीकरण गर्ने भन्ने पनि छ । त्यसकारण मेरो भविश्य अब के हुने होला भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन । हामीले अवस्था सहज बनाउनेतिर लागिपरेका छौँ । केही दिनमै हामी विकल्पबारे भन्छौँ । 

विद्यार्थीहरु मानसिक तनावमा पर्न थालेका छन् । कस्तो मोडालिटी अङ्गाल्ने भन्नेबारे निर्णय गर्न अलि हतार गर्नुपर्ने होइन र ?

चैत ६ गतेदेखि एसईई हुन्छ भनेर मैले नै चैत ४ गते भनेको थिएँ । परीक्षा दिन तयार हुनुस्, हामी हेल्थ डेक्स राखेर भएपनि परीक्षा लिन्छौँ भनेर मैले नै भनेको हुँ । तर परिस्थितिले गर्न सकिएन । परिस्थिति झन् विकराल भइराखेको छ । अहिले नै हामीले तिथि मिति तोक्न सक्ने अवस्थामा छैनौँ ।

यसको मतलब परीक्षाको विषयमा विद्यार्थीहरु अझै केही समय सरकारको निर्णय पर्खेर बस्नुपर्ने हुन्छ ?

एसईई परीक्षाबारे तनाब लिएर बस्नु पर्दैन । अहिलेदेखि नै तनाब लिएर पढ्नु आवश्यक छैन । तर पढिरहेका कुराहरुलाई ‘रिभाइज’ गर्दा राम्रो हुन्छ । विभिन्न माध्यमबाट तयारीका कार्यक्रमहरु ल्याइरहेका छौँ । स्थिति सहज भएपछि पनि विद्यार्थीहरुलाई प्रयाप्त समय दिएर परीक्षा लिन्छौँ । अन्तिम अवस्थामा पनि हाम्रो जोडबल परीक्षा नै लिने हुन्छ । विद्यार्थीमा द्विविधा हुनु स्वभाविक हो । हामी थप गृहकार्यमै छौँ ।

परीक्षा हुन नसकेर आन्तरिक मूल्याङ्कनमा जानुपर्ने भयो भने त्यसको मोडालिटी कस्तो हुन्छ ?

त्यो विकल्पमा जानुपर्ने भयो भने तपाईंले भन्नुभएका पाटाहरुमा छलफल हुन्छ । तर हामीले यो विकल्प नै अन्तिम भनेका छैनौँ । हाम्रो जोडबल अहिले पनि जसरी पनि परीक्षा गराउने नै हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

3 Comments

  • विपिन बाबू उपाध्याय

    May 28, 2020, 8:46 a.m.

    परिक्षा हुन्छ भनेर बिधार्थीलाई अत्याई रहनु भन्दा पहिले अब SLC हटाइयो भनेर जानकारी गराइएकै हो। नाम परिवर्तन गरेर पनि SLC झेै SEE बनाइयो। मेरो राय १. कक्षा १० मा स्कुल ले लिएको परिक्षा को कपि कलेक्सन गरेर पुन परिक्षण गरेर सोही अनुसार रिजल्ट प्रकाशन गरे होला। २. कक्षा ११ को भर्नाको समयमा Standard प्रश्न तयार गरेर भर्ना पुर्वको परिक्षा लिऔ। प्राप्त नम्बर अनुसार भर्ना लिने ब्यबस्था गरौ। ३. अनलाईन परिक्षा दिन सबै बिधार्थी हरु जानकार नहुन पनि सक्छन। ४. जे गर्छौ निर्णय गरौ। कोरोनाको कहर देशमा क्रमशः वढिरहेको छ र तत्काल परिक्षा को मिति तोक्न सकिन्न जस्तो लाग्छ। ५.अहिले परिक्षा भन्दा पनि बिधार्थीको स्वास्थ्यको चिन्ता अभिभाबक लाई छ।

  •  0 Reply
  • Aswin Poudel

    May 28, 2020, 7:25 a.m.

    Dear sir/man The postponed SEE examination Has been Fixed or not because there are all fake news in social media .So I want to get this much information from you . Hope you will give response Soon

  •  0 Reply
  • Ram Subedi

    May 27, 2020, 8:17 p.m.

    अाशा लाग्याे । मन्त्रालयले उपयुक्त निर्णय गर्नेछ । धन्यबाद दिपक सर ।

  •  0 Reply

तपाईको प्रतिक्रिया