खाडी र मलेसियामा लकडाउन खुकुलो हुँदै, नेपाली श्रमिकलाई फाइदा पुग्ने

 जेठ १६, २०७७ शुक्रबार १७:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिक कार्यरत खाडीका केही देश र मलेसियामा कोरोनाको कहरकै बीचमा चहलपहल सुरु भएको छ । साउदी, यूएई, कुवेत, ओमान र मलेसियामा विस्तारै आर्थिक गतिविधि सुरु हुन थालेका छन् ।

सुरुवाती दिनमा कर्फ्यु नै लागेको साउदी र कुवेत पनि विस्तारै खुल्न थालेका छन् । यूएईको दुबई राज्यले पनि लकडाउन खुकुलो बनाउँदै लगेको छ भने मलेसियामा त झण्डै एक महिना अघिदेखि नै लकडाउनलाई खुकुलो बनाउँदै आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खुल्दै गएमा त्यहाँ कार्यरत नेपालीलाई फाइदा पुग्नेछ ।

यस्तो छ खाडीका देश र मलेसियाको पछिल्लो अवस्था :

२१ जुनपछि सामान्य अवस्थामा फर्कने तयारीमा साउदी

कोरोना सङ्क्रमण रोकथामका लागि साउदीले झण्डै दुई महिने लामो कफ्र्यु जारी ग¥यो । साउदीमा अहिले पनि दिनमा दुई हजारका दरले कोरोना सङ्क्रमित बढिरहेका छन् ।

तर पहिलेको तुलनामा सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको साउदीको भनाइ छ । त्यसैले साउदीले विभिन्न चरणमा विभाजन गरेर दुई महिने लामो कडा कर्फ्युलाई खुकुलो बनाउँदै लगेको छ । 

पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएको छ भने बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यसअघिको लकडाउनमा क्षेत्र र प्रान्तहरुबीचको आवागमन बन्द गरिएको थियो ।

खुला गरिएको समयमा साउदीमा खुद्रा तथा होलसेल पसलहरु र मलहरु खुल्नेछन् । तर सामान किन्न निस्कँदा र कारोबार गर्दा दुरी कायम गर्नुपर्नेछ भने पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने बन्द रहनेछन् ।

साउदीले दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गर्ने भएको छ । यो समयमा क्षेत्र र प्रान्तबीच आउजाउ गर्न पाइन्छ ।

यो समयमा सरकारी कार्यालयहरुसमेत खुल्नेछन् । तर कोरोना सङ्क्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरु पूर्ण पालना गर्नपर्नेछ । सबै गाइडलाइन पालना गर्दैन निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

तर यस क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने बन्द नै रहनेछन् । रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्ने भएका छन् तर पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने दोस्रो चरणमा पनि बन्द रहनेछन् ।

तेस्रो चरणलाई जून २१ पछिको अवधिमा मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा देशलाई लैजाने योजना बनाएको साउदी प्रेसलाई उल्लेख गर्दै त्यहाँ रहेको दूतावासले जनाएको छ । साउदीले लकडाउन खुकुलो बनाए पनि अन्तर्राष्ट्रिय उडान भने कहिले खुल्छ भनेर भनेको छैन । 

दुबईमा लकडाउन खुकुलो

यूएईको दुबईमा पनि लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कफ्र्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइएको थियो । यस्तै दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुला भएका छन् । बिभिन्न शिक्षण संस्था तथा प्रशिक्षण केन्द्रहरु खुला भएको छ । 

त्यस्तै दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु, थोक तथा होलसेल पसलहरु खुला भएका छन् ।  त्यस्तै दुबईका स्वास्थ्य सेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्य रुपमा सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।

मुखमा मास्क र हातमा ग्लोभ्स अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू भएको हो । यूएईका अन्य राज्यमा लागू हुनेछैन । 

कुवेतमा पनि सामान्य अवस्थामा फर्कन ५ चरणको योजना

कोरोना सङ्क्रमण रोकथामका लागि कुवेतले लामो समयदेखि जारी गरेको कडा कर्फ्यु केही खुकुलो बनाएको छ । कुवेत सरकारले अब बिस्तारै समान्य अवस्थामा फर्कनका लागि कोरोना सङ्क्रमणबाट बच्ने उपायहरु अपनाउँदै अघि बढ्ने बताएको छ । कुवेतले पाँच चरणमा विभाजन गर्दै सामान्य अवस्थामा फर्कने जनाएको छ । सबै चरणहरु तीन हप्ताका रहेका छन् ।

योजना अनुसारनै भएमा सेम्टेम्बर १३ देखि कुवेत फेरि पुरानै शैलीमा फर्कनसक्ने बताएको छ । पहिलो चरणमा सरकारी र निजी कार्यलयहरु बन्द नै रहनेछन् । पहिलो चरण मे ३१ देखि सुरु हुनेछ र जुन २१ मा सकिनेछ । यो आधा कर्फ्युकै समय रहनेछ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्यु लाग्नेछ । यो चरणमा रेस्टुरेन्ट र क्याफेहरु डेलिभरीका हिसाबले खुल्न पाउनेछन् । वितरक संस्था पेट्रोल स्टेशन, निजी अस्पताल र क्लिनकहरु लागयतका खुल्नेछन् । 

दोस्रो चरण जुन २१ देखि सुरु हुनेछ । यो समयमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्नेछ । यो समयमा सरकारी र निजी कार्यलयहरु ३० प्रतिशत कर्मचारीसहित खुल्नेछन् ।  मलहरु बिहान १० बजेदेखि राति ६ बजेसम्म खुल्नेछन् । पैसा साट्ने ठाउँ, वित्तीय क्षेत्र, व्यापार र रेस्टुरेन्ट क्याफेहरु पनि सेवा दिन पाउनेगरी खुल्नेछन् । 

कुवेतमा तेस्रो चरण जुलाई १२ देखि सुरु हुनेछ । यो अवधिमा कर्फ्यु लाग्ने छैन । निजी र सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितिसहित खुल्न पाउनेछन् । होटल र रिसोर्ट लागयत पनि खुल्नेछन् । यो फेजमा ट्याक्सी पनि चल्नेछन् । तर एक जना मात्र यात्रु चढाउन पाइनेछ । 

चौथौ चरण अगष्ट दुईदेखि सुरु गर्ने कुवेत सरकारको योजना छ । यस अवधिमा सरकारी र निजी कार्यालयहरु ५० प्रतिशतभन्दा धेरै कर्मचारीसहित खुल्न पाउनेछन्। होटल, रेस्टुरेन्ट र क्याफेहरुले आफ्ना ग्राहकलाई सेवा दिन सक्नेछन् । र सार्वजनिक यातायातसमेत चल्नेछन् । यात्रीले दूरी भने कायम गर्नुपर्नेछ ।

पाँचौं चरण अगष्ट २३ पछि सुरु हुनेछ । यो समयमा मानिसको दैनिकी सामान्य अवस्थामा चल्ने कुवेतको दावी छ । तर भौतिक दुरी र सरसफाइमा भने ध्यान दिनुपर्नेछ ।

ओमानमा आजदेखि लकडाउन खुकुलो

ओमानको मस्कट गभरनेट यस क्षेत्रको लकडाउन मे २९ शुक्रबारदेखि हटाउने भएको छ । अब मस्कटका सरकारी निकायहरुमा कम्तिमा ५० प्रतिशत कर्मचारी उपस्थित हुनुपर्ने छ ।

प्रत्येक इकाईका प्रमुखले महामारीको प्रसारलाई रोक्न आवश्यक सावधानीका उपायहरु अपनाउँदै सरकारी निकायको नियमित गतिबिधि र कार्य सम्पादन गर्न सक्ने निर्णय भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

समितिको निर्णय अनुसार केही कर्मचारी वार्षिक बिदामा पनि बस्न सक्नेछन् भने बाँकी कर्मचारीहरुले मे ३१ ऋर्थात आइतबारदेखि काममा फर्कनु पर्नेछ । आवश्यक सावधानीका उपायहरु अपनाउँदै सरकारी निकायको नियमित गतिबिधि र कार्य सम्पादन गर्न सक्ने निर्णय भएको भए पनि कोरोना सङ्क्रमणबाट बच्न निश्चित मापदण्ड भने पालना गर्नुपर्नेछ ।

मलेसियामा आर्थिक गतिविधि सुरु

मलेसियाले मे ४ देखि नै क्षेत्रगत हिसाबमा आर्थिक गतिविधि सुरु गरेको छ । गएको मार्चदेखि नै लकडाउनमा रहेको मलेसियमा अहिले पनि लकडाउन नै छ । जुन ९ सम्म अहिले लकडाउनको अवधि तोकिएको छ । तर क्षेत्रगत हिसाबले मलेसियाले लकडाउनलाई झण्डै एक महिनाअघिदेखि नै खुकुलो बनाउँदै लगेको छ ।

आर्थिक गतिविधि निश्चित मापदण्ड पालना गर्दै सुरु भएका छन् । होटलहरु लगायत विभिन्न क्षेत्रमा नेपाली श्रमिकको काम फेरि सुरु भएको छ । अहिले मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको र निको हुनेको सङ्ख्या पनि धेरै भएकाले अब जुन ९ पछि मलेसियाले थप खुकुलो बनाए नेपाली श्रमिकलाई फाइदा हुनेछ । 

खाडीका अरु देशमा पनि लकडाउन खुकुलो हुँदै गएमा बन्द उद्योगधन्दा र कलकारखाना खुल्छन् र नेपाली श्रमिकले पनि काम पाउँछन् । 


 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया