पट्यारलाग्दो छैन चित्रकारहरुका लागि यो लकडाउन

 जेठ २०, २०७७ मंगलबार १६:४१:३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - विश्व लकडाउनमा छ । नेपाल पनि दुई महिनादेखि लकडाउनमा छ । देशका अधिकांश नागरिक यति वेला घरभित्र थुनिएर बसेका छन् । घरभित्र बस्नुपर्दा समय पट्यारलाग्दो बन्दै गएको छ । तर केही व्यक्तिले घरभित्रै रङ र मसीसँग खेल्दै आफ्नो जीवन रङ्गीन बनाइरहेका छन् । 

घरभित्र थुनिएको छु भन्ने बिर्सन्छु : गोविन्द डंगोल

ललितपुर सानेपाका गोविन्द डंगोल उमेरले ७५ वर्ष हुनुभयो । सानै उमेरदेखि चित्र कोर्न थाल्नुभएका उहाँको जीवन नै रङ र ब्रससँग बित्यो । अहिले पनि उहाँले चित्र कोर्ने काम छोड्नुभएको छैन । लकडाउनकै समयमा उहाँले २५ भन्दा धेरै चित्र बनाइसक्नुभयो । उहाँ हिजोआज आफू घरभित्र थुनिएको छु भन्ने समेत बिर्सनुहुन्छ । 

घरको चार भित्ताभित्र बसेर उहाँ कलामा नै विश्व खोज्नुुहुन्छ । सहर गाउँ सबै बनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अरुले बनाएको संसार जस्तो भएपनि मैले आफूलाई सुन्दर लाग्ने गाउँसहर या विश्व घरभित्रै बनाएको छु । यसमै खुसी पनि छु । 

सानै उमेरदेखि कलामा रुचि राख्ने उहाँले पूर्वराजा विरेन्द्रकी छोरी श्रुतिलाई चित्र कोर्न सिकाउनुभएको थियो । उहाँले दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रुतिलाई चित्र बनाउन सिकाउनुहुन्थ्यो । उहाँले ललितकला क्याम्पस भोटाहिटीमा लामो समय पढाउने कामसमेत गर्नुभयो ।  

डंगोललाई बुबाआमाले डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो । आमाबुवाको सपना पूरा गर्न उहाँले विज्ञान विषय लिएर पब्लिक साइन्स क्याम्पस (अस्कल क्याम्पस)मा भर्ना हुनुभयो । 

क्याम्पसमा एक दिन एक जना साथी ठोक्किएर शरीरबाट रगत निस्किएकोे देखेपछि डाक्टर भएर उपचार गर्न आफूलाई निकै गाह्रो हुने सोच्दै उहाँले एक हप्तामै कलेज छोड्नुभयो । त्यसपछि उहाँले भारतको मुम्बईमा रहेको जेजे कलेजबाट छात्रवृत्तिमा आर्ट विषय पढेर नेपाल फर्कनुभयो । 

डंगोलले बनाएका चित्र १ लाख ७५ हजार रुपैयाँसम्ममा बिक्री भएको उहाँको अनुभव छ । उहाँले वाश पेन्टिङ पनि बनाउनुहुन्छ । धेरै जनाले वाश पेन्टिङ गदैनन् । अप्ठ्यारो हुन्छ ।  लामो समय पनि लाग्छ । एउटै चित्र बनाउनको लागि १ महिना पनि लाग्छ । तर त्यस्ता चित्रबाट राम्रो दाम पाइने उहाँको भनाइ छ । उहाँले बुद्ध, हिमाल र पहाडलगायतका चित्र बनाउने गर्नुभएको छ । 

उहाँलाई सबैभन्दा बढी हराभरा प्रकृति मन पर्छ । प्रकृतिको अवलोकन गरेर चित्र उतार्नु उहाँको विशेषता हो  । सधैँ वास्तविक वस्तु मात्रै नभई कल्पनालाई समेत चित्रमा उतार्न सक्नु चित्रकारको विशेषता भएको उहाँ बताउनुहुन्छ । चित्र बनाएर आफैँ बेच्न अझै समस्या छ । सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । 

अहिले चित्र बनाएर राख्यो भने पछि व्यापार भइहाल्छः नरेश सैँजु

काठमाण्डौको कोटेश्वरका नरेश सैँजुको लकडाउन दैनिकी पनि चित्र बनाउँदैमा बित्ने गरेको छ । कौसीमा केही बिरुवा रोपेर घाम छेकिने ठाउँ बनाउनुभएको छ । उहाँ प्रायः त्यही बसेर चित्र कोर्नुहुन्छ । लकडाउनमा कौसीको घाममा बिरुवाको छायाँमा बस्ने र अरु बेला यत्तिकै शीतल ताप्दै चित्र बनाउँदै बस्ने गरेको उहाँ बताउनुहुन्छ । 

अग्लो ठाउँ र सुनसान वातावरणमा बसेर चित्र बनाउन नरेशलाई असाध्यै मन पर्छ । उहाँ भन्नुहुन्छ, ‘लकडाउनको कारण कतिको रोजगारी गुमेको छ । सञ्चारमाध्यममा मानिसहरु समस्यामा परेका र मजदुरले भोगेका पीडा देखिन्छ । त्यही पीडा र व्यथालाई उहाँले चित्रमा उतार्ने गर्नुभएको छ । सुरुमा आफूलाई निकै डर लागेको र चित्र बनाउने मुड नभएको तर हिजोआज उहाँले फुर्तीका साथ चित्र बनाउने गर्नुभएको छ  । 

उहाँ भन्नुहुन्छ, ‘हाम्रो व्यवसायलाई लकडाउनले खासै प्रभावित बनाएको छैन । अहिले चित्र बनाएर राख्यो भने पछि व्यापार भइहाल्छ ।’ उहाँ आत्मविश्वासका साथ भन्नुहुन्छ, ‘यो कठिन घडी धेरै दिन रहँदैन ।’

सैँजु हिजोआज चित्रमा नयाँपन खोज्ने प्रयास गर्नुहुन्छ । उहाँले विशेषगरी सुनसान, सफा सहर, चहलपहल भएका गाउँघर, जनजीवन र पशुपन्छीलगायतका चित्र बनाउने गर्नुभएको छ । कौसीमा बसेर चित्र बनाउने विषय खोजिरहँदा धेरै नयाँ कुराबारे जानकारी पाएको उहाँ बताउनुहुन्छ । सैँजु भन्नुहुन्छ, ‘हिजोआज सहरमा नयाँ नयाँ चरा पनि देखिन्छन् । उनीहरु खुसीले नाचेकाजस्ता लाग्छन्  । सायद सफा र सुन्दर वातावरणको कारण उनीहरु नाचेका हुन् ।’ 

विद्यालय बन्द भएको बेला बालबालिकालाई चित्रकलाजस्ता रचनात्मक सीप सिकाउनुपर्ने उहाँको विचार छ । अहिले बालबालिका पनि घरमै छन् । उनीहरुलाई भुल्याउन समस्या छ । यस्तो अवस्थामा अभिभावकले बालबालिकालाई चित्र बनाउन लगाउदा राम्रो हुन्छ । आफूले नजाने पनि खाली पानामा कोर्न लगाउने, रङ भर्न लगाउने र आफूले पनि प्रयास गर्दा राम्रो हुने उहाँको भनाइ छ । 

चित्र कोर्दैछु, घरको काममा सहयोग गर्दैछु : जीवन राजउपाध्याय

काठमाण्डौकै जीवन राजउपाध्याय भने चित्र बनाउनुका साथै घरायसी काममा पनि व्यस्त हुनुहुन्छ । उहाँले घरका प्रायः सबै काममा सहयोग गर्नुभएको छ । पहिला घरमा खासै समय दिन नभ्याएपनि अहिले घरका काम पनि गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले चित्र बनाउन पनि छोड्नुभएको छैन । 

लकडाउनका सुरुका दिनमा उहाँलाई अलि ‘बोर’ नै लागेको थियो । अहिले भने बानी परिसकेको छ । हिजोआज उहाँ घरमै बसेर चित्र बनाउन सक्रिय हुनुुहुन्छ । लकडाउनको कारण अहिले चित्र प्रदर्शनी गर्न र बेच्न गाह्रो छ । त्यसैले साथी ‘सर्कल’मै अनलाइन पोर्टलजस्तो बनाएर चित्रहरु प्रदर्शन गर्ने सोच उहाँले बनाउनुभएको छ । 

त्यस्तै बेलाबेलामा समूहमा ‘च्याटिङ’ पनि हुने गरेको उहाँ बताउनुहुन्छ । समूहमा कुराकानी गर्दा पनि चित्रकै विषयमा चर्चा हुने गरेको र कतिपयले अनलाइनबाट किन्ने ‘अर्डर’ समेत गर्ने गरेको उहाँको भनाइ छ ।  

जाँगर हुनेका लागि कामै काम

लकडाउन पट्यारलाग्दो भयो, गर्ने काम केही छैन भन्नेहरुका लागि डंगोल, सैँजु र राजउपाध्याय प्रेरणाका पात्र हुन् जसले घरभित्रै बसेर आफूसँग भएको सीपको प्रयोग गरेर समयको सदुपयोग गर्दै हुनुहुन्छ ।

जाँगर हुनेका लागि कामै काम भनेझैँ अहिलेको लकडाउनमा आफूले सिकेको सीपको प्रयोग गरी घरमै काममा दक्षता हासिल गर्ने र घरबाटै सिक्न सकिने यो सुनौलो अवसर हो । त्यसैले काम छैनभन्दा पनि गर्न सकिने काम गरेर समयको उपयोग गर्नु नै लकडाउनको ठूलो उपलब्धि हो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया