सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो
बैशाख ६, २०८२ शनिबार
कोरोना भाइरसको सङ्क्रमण सर्ने डरले पोखरा, अर्घाखाँची, डडेल्धुरालगायत केही ठाउँमा केही दिनअघि तरकारी नष्ट गर्ने काम भयो । ट्रकका ट्रक तरकारीलाई खाल्डो खनेर पुर्ने काममा जनप्रतिनिधिहरु नै सहभागी भए । नेपालबाट उत्पादिन कृषि उपज नष्ट गर्ने काम भए पनि भारतबाट आयातित तरकारी तथा फलफुल भने नेपालका विभिन्न बजारमा निर्वाधरुपमै खपत भइरहेकै छन् ।
अहिलेसम्म तरकारी, फलफुललगायतबाट कोरोनाको सङ्क्रमण सरेको रेकर्ड नभएकोले तरकारी तथा फलफुल खाडलमा गाड्ने काम गर्नु गलत रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । यसै विषयमा टेकमान शाक्यले जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेसँग कुराकानी गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमण सर्ने डरका कारण नेपालका केही ठाउँमा तरकारी तथा फलफुल जनप्रतिनिधिकै नेतृत्वमा नष्ट गर्ने काम भयो । तरकारी र फलफुलजन्य सामग्रीबाट कोरोना सर्छ र ?
संसारमा अहिलेसम्म तरकारी, फलफुल र खानाबाट कोरोना सरेको प्रमाण छैन । तरकारीलाई सुरक्षित किसिमले हामीले घरमा ल्याउन सक्छौँ । अहिले हामीले कोरोना सर्ने डरले एउटा जिल्लाबाट अर्को जिल्लामा पुगेका तरकारी खाएका छैनौँ तर भारतबाट आएका तरकारी भने उपभोग गरिरहेका छौँ । यो कुरा बिर्सन हुँदैन कि हाम्रो गाउँमा हाम्रा किसानले फलाएका फलफुल तथा तरकारी भारतबाट आयातितभन्दा बढी पोषिलो र स्वस्थकर हुन्छ भन्ने कुरा । त्यसैले तरकारी फाल्ने, नष्ट गर्नेजस्ता प्रवृत्ति हामीले पटक्कै गर्नु हुँदैन । फलफुल र तरकारीबाट कोरोना सरेको रेकर्ड अहिलेसम्म संसारमै छैन ।
यदि सङ्क्रमित व्यक्तिको सम्पर्कबाटै आएको छ भने पनि त्यो फलफुल तथा तरकारी प्रयोग गर्दा हुन्छ त उसो भए ?
किनेर ल्याइएको तरकारीलाई मनतातो पानीमा डुबाएर, नुन राखेर अथवा हल्का खाने सोडा हालेर पखालियो भने यदि कोरोनाको सङ्क्रमण रहेछ भने पनि नष्ट हुन्छ । त्यसरी प्रयोग गर्यौँ भने जहाँबाट ल्याइएको तरकारी भए पनि त्यसबाट कोरोना सर्दैन ।
त्यसो भए स्थानीय प्रशासन या भनौँ जनप्रतिनिधिकै रोहबरमा तरकारी तथा फलफुल नष्ट गर्ने क्रियाकलाप गलत छ हैन ?
एकदमै गलत हो । अस्ति अर्घाखाँची जिल्लामा जुन घटना भयो, त्यसपछि हामीले व्यापकरुपमा त्यसको विरोध गर्यौँ । त्यहाँका प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो गल्ती स्वीकार्नुभयो । पछि मन्त्रालयले विज्ञप्तिसमेत निकाल्यो । त्यस्तै चितवनबाट पोखरा लगेको तरकारी पनि फाल्ने काम भयो । हामीले त्यसको पनि विरोध गर्यौँ । त्यसपछि भने अलिकति भने पनि चेतना आएको छ ।
उसो भए पालिकाकै रोहबरमा जनप्रतिनिधि सहभागी भएर यस्तो काम किन भयो होला ?
मेरो विचारमा कोरोना सङ्क्रमण फैलिएको ठाउँबाट तरकारी आउँदैछ भन्ने जानकारी आएपछि त्यसलाई नष्ट गर्ने आदेश आएको र त्यही आदेश अनुसार नष्ट गर्ने काम भएको जस्तो लाग्छ । प्रहरी, प्रशासन, पालिकालाई हामीले काउन्सिलिङ गर्न नसकेको कारण यस्तो समस्या भएको हो । यो उहाँहरुको पनि दोष होइन । किनभने उहाँहरुलाई जानकारी छैन र शङ्का छ भने त्यो शङ्कालाई निराकरण गर्नु राज्यको कर्तव्य हो । राज्यले सबै निकायलाई यो विषयमा प्रष्ट पारेर परिपत्र गर्नु जरुरी छ । हामी जनस्वास्थ्यकर्मीहरुले पनि समय समयमा सचेत गराइरहेकै छौँ । कोरोना भएको मान्छेलाई भेदभाव गर्ने,सामान फाल्नेलगायत काम गर्नु गलत छ । कोरोना भाइरस मान्छे, जनावर र रुखबिरुवाको शरीर र सेलमा मात्रै बाँच्न सक्छ । तरकारीको बाहिरी कभरमा कोरोना बाँच्न सक्दैन ।
यदि तरकारी उत्पादन गरेको ठाउँमा कोरोना सङ्क्रमण छ र केही सङ्क्रमित व्यक्तिको सम्पर्कमा तरकारी ढुवानी भएको छ भने नि ?
यदि तरकारीमै कोरोना छ भने पनि कपिलवस्तुबाट अर्घाखाँची पुर्याउने बेलासम्म अथवा चितवनबाट पोखरा लैजाने समयसम्ममा नष्ट भइसकेको हुन्छ । किनकि लामो दुरीमा धेरै समयसम्म रहन सक्दैन । दोस्रो कुरा लोड गर्दा, अनलोड गर्दा नै नष्ट भइसकेको हुन्छ । कारणबस २–४ वटा कोरोना भाइरस तरकारीसँगै आएको छ भने पनि त्यसबाट कोरोना सर्दैन । कोरोना भाइरस खासगरी श्वासप्रश्वासबाट सर्ने भाइरस हो । यो एउटा मान्छेबाट अर्को मान्छेमा सर्छ । अनुहारतिरै फर्केर खोक्यो भने, हाच्छ्युँ गर्यो भने अनि चर्कोसँग बोल्यो भने मात्रै कोरोना सर्ने हो ।
कोरोना सङ्क्रमितसँग मास्क प्रयोग नगरिकन छोटो समय बसेर कुराकानी गर्दासमेत यो सङ्क्रमण सर्दैन । प्रतिमिनेट झण्डै एक सय वटा भाइरस सङ्क्रमितको मुखबाट बाहिर निस्कन्छ । कोरोना भाइरस सर्नको लागि एक हजारदेखि तीन हजार वटासम्म भाइरस हुनुपर्छ । त्यो नभएसम्म भाइरस सर्ने लोड पुग्दैन भने तरकारी र फलफुलबाट सर्ने कुरा त टाढैको कुरा भइहाल्यो । यदि तरकारी फलफुल र खाने कुरामा ८–१० वटा भाइरस रहेछ भने पनि त्यसबाट सर्ने कुनै चान्स नै हुँदैन । संसारमा कतै पनि तरकारी र खानाबाट कोरोना सरेको अहिलेसम्म रेकर्ड छैन । सबैजना यो विषयमा ढुक्क हुन जरुरी छ ।
हामीले सङ्क्रमणको दर तीव्र रहेको भारतलगायत देशबाट आयातित सामानहरु अहिले पनि प्रयोग गरिरहेका छौँ । कृषि उपजहरु पनि उत्तैबाट आइरहेको छ । यतातिरबाट चाहिँ सङ्क्रमण भित्रने सम्भावना कत्तिको रहन्छ ?
तरकारी, फलफुलमा त सङ्क्रमण केही समयसम्म मात्रै रहने हो । ७२ घण्टासम्म रहने मेटल र धातुहरु पनि नेपाल आइरहेकै छन् । सङ्क्रमण धेरै समय रहन सक्ने सामग्रीबाट समेत कोरोना सरेको रेकर्ड अहिलेसम्म छैन । अमेरिकाको एउटा अध्ययनले पनि कोरोनाको सङ्क्रमण श्वासप्रश्वासबाट मात्रै सर्ने देखाएको छ । धातु, खाना, तरकारी र फलफुलबाट सङ्क्रमण सर्नको लागि लोड नै नपुग्ने अध्ययनको दाबी छ ।
आयातित सामग्री ल्याउने मान्छेहरुमा सङ्क्रमण रहेछ भने मात्रै उनीहरुबाट अरु मानिसमा सङ्क्रमण सर्ने हो । यो विषयमा धेरै तनाव लिनुपर्दैन । पञ्जा लगाउने, मास्क लगाउने र राम्रोसँग हात धुने गरियो भने हामीले केही डर मान्नै पर्दैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।