कुवेत पनि आफ्नै खर्चमा नेपाली पठाइदिन तयार, खाडी र मलेसियाबाट स्वदेश फर्कन खोज्ने नेपाली ४० हजारभन्दा धेरै

 जेठ २३, २०७७ शुक्रबार १०:४४:५५ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – विदेशमा समस्यामा परेर फर्कने नेपालीको कोरोना जाँच गन्तव्य देशमा कसरी हुन्छ भन्ने अन्यौल भइरहेका बेला कुवेतमा आममाफी पाएर फर्कने दिन कुरिरहेका नेपालीको कोरोना जाँच पनि कुवेत सरकारले नै गरिदिने भएको छ ।

कुवेतमा भिसाको म्याद सकिएका र रोजगारदाता परिवर्तन गरेर गैरकानुनी भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

नेपाल सरकारले स्वदेश फर्कने नेपालीसँग कोरोना जाँचको प्रमाण हुनुपर्ने मापदण्ड बनाएको छ । आममाफीमा सहभागी भएकाको कोरोना जाँचसहित कुवेत सरकारले आफ्नै जहाजमा नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो । अन्यको हकमा भने कतिपय कम्पनीले पनि गरिदिन सक्छन् भने कतिले व्यक्ति स्वयंले नै पनि गर्नुपर्ने हुन्छ । तर यसबारे अझैं के प्रावधान हुन्छ भन्नेबारे टुङ्गो नलागेको राजदूत भण्डारीको भनाइ छ । 

कुवेतमा मात्र होइन, अरु देशबाट स्वदेश फर्कने नेपालीको पनि कोरोना जाँच गरेको प्रमाण हुनुपर्ने भनिए पनि कसरी र कसले गर्न पर्ने भन्ने यकिन भइसकेको छैन। कतारमा रहेको नेपाली दूतावासले भने छलफल यसबारे भइरहेको र छिट्टै कुनै उपाय बताउने बताएको छ ।

पाँचदेखि ८ हजारसम्म फर्कने अनुमान

 कुवेतमा पहिलो प्राथमिकतामा आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका झण्डै तीन हजार नेपाली छन् । तर कुवेतले अहिले उडानको प्रस्ताव मागेको छैन । कुवेतले उडानको प्रस्ताव पठाएपछि उनीहरुको स्वदेश फिर्ती सुरु हुनेछ । 

त्यसपछि घर फिर्ती केन्द्रमा रहेका, रोजगारी गुमाएका, महिला, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा परेका नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सङ्ख्या पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने राजदूत भण्डारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आममाफीमा सहभागी झण्डै तीन हजार र अरु चारदेखि पाँच हजारसम्म हुनसक्ने अनुमान छ, तर यो सङ्ख्या बढ्न सक्छ, हामी अझै पनि तथ्याँक सङ्कलन गरिरहेकै छौं ।’

आममाफीमा सहभागी भएकाको हकमा कुवेत सरकारले नै विमानस्थलसम्म ल्याइदिने हुँदा यहाँको व्यवस्थापनमा मात्र सरकारले गर्दा हुन्छ । तर अन्य विभिन्न समस्यामा परेकाको हकमा भने व्यक्ति स्वयंले नै टिकट काट्न पर्ने अवस्था पनि रहेको छ । 

दूतावासले कति जना त्यस्ता व्यक्ति हुन्छन् भन्ने विवरण सङ्कलन गरिरहेको छ र त्यसबारे परराष्ट्रलाई जानकारी गराउनेछ ।  कुवेतका दुई कम्पनीले दूतावासलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिने प्रस्ताव गरेका छन् । यी कुवेतका ठूला कम्पनी हुन् र श्रमिकको सङ्ख्या पनि धेरै छ । तर कतिपय  श्रमिक थोरै भएका कम्पनीले भने मिलेर पठाउने खालको प्रस्ताव पनि आउन सक्ने राजदूत भण्डारीको भनाइ छ । 

इराकमा रहेका नेपालीको पनि तथ्याँक सङ्कलन गर्दै दूतावास

कुवेतमा रहको नेपाली दूतावासले इराकमा कोरोनाको कारण समस्यामा परेका नेपालीको पनि तथ्याँक सङ्कलन गरेको छ । इराकबाट नेपाल फर्काउन पर्ने नेपाली कति छन् भनेर अहिले यसै भन्न नसकिने र तथ्याँक सानो नै हुने राजदूत भण्डारीले बताउनुभयो ।

इराक नेपाल सरकारले वैदेशिक रोजगारीका लागि जान रोक लगाएको देश भए पनि विभिन्न माध्यममार्फत नेपालीहरु पुगेका छन् । त्यहाँ नेपाली दूतावास नभएकाले कुवेतमा रहेको नेपाली दूतावासले नै त्यहाँ हेर्ने गर्छ । 

बहराइनले पठायो प्राथमिकतामा परेको नेपालीको विरण

बहराइनले पनि कोरानोको कारण समस्यामा परेर स्वदेश फर्काउनुपर्ने नेपालीको विवरण पठाइसकेको छ । बहराइनमा झण्डै ९ सय नेपाली सरकारले तोकेको प्राथमिकतामा परेको र उनीहरुको विवरण दूतावासले नेपाल पठाइसकेको बहराइनका लागि नेपाली राजदुत पदम सुन्दासले जानकारी दिनुभयो ।

बिरामी, भिसा सकिएका, कामबाट निकालिएका, विद्यार्थी गर्भवती लगायतलाई दूतावासले प्राथमिकतामा राखेको छ । आफ्नो अवस्थासहित दूतावासमा विवरण टिपाउनेको सङख्या भने धेरै छ ।

बहराइनबाट स्वदेश फर्कने नेपालीको कोरोना जाँचको सम्बन्धमा दूतावासले बहराइन सरकारसँग निःशुल्क जाँचका लागि अनुरोध गरेको छ । तर के हुन्छ भन्नेबारे जवाफ नआएको राजदूत सुन्दासले बताउनुभयो ।

अरु देशबाट फर्कने कति ?

तथ्याँक अनुसार मध्यपूर्वका देशबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या ४० हजारभन्दा धेरै रहेको छ ।  यूएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ९ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची छ ।

शुक्रबार यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो । । शुक्रबार नै म्यानमारमा रहेका २६ जना नेपालीलाई स्वदेश फर्कनेछन् ।

काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र म्यानमार सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । विभिन्न कारणले स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भए पनि सरकारले प्राथमिकताको आधारमा ल्याइने बताएको छ । नेपालीको उद्दारका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने निर्णय भइसकेको छ ।

सरकारले विदेशबाट फर्काइने नेपालीको लागि काठमाण्डौमा प्रदेश अनुसार होल्डिङ सेन्टरको समेत व्यवस्था गरिसकेको छ । होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई नेपाली सेनाको संयोजनामा सम्बिन्धत जिल्ला सदरमुकामसम्म पुर्‍याइनेछ । आफ्नो पालिकाले व्यवस्था गरेको क्वारेण्टीनमा १४ दिन बसेपछि मात्रै उनीहरु घर फर्कन पाउनेछन् । घरमा पनि ७ दिनसम्म होम क्वारेण्टीमा बस्न पर्नेछ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • काशीराम रिमाल

    June 5, 2020, 3:52 p.m.

    माल्दिभ्सका लगभग १० हजार नेपाली मध्य कतिपय बेखर्ची, रोजगार गुमाएका, करार/भिसा सकिएकाहरुको आवाजले किन ठाउँ पाउैन?

  •  0 Reply
  • Tej kumar sarki

    June 5, 2020, 12:02 p.m.

    भीसा सकिएको April 06/2020 हाल साउदी अरववाट ... काम नभएको ३ महिना भयो , त्यसैले नेपाल जान कोशिस गर्दैछु ..मेरो प्रतिक्रिया यही हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया