विदेशबाट नेपालीको स्वदेश फिर्ती : उडान मिति, खर्च र कोरोना परीक्षणबारे दूतावासलाई स्पष्ट निर्देशन भएन

 जेठ २३, २०७७ शुक्रबार १७:२२:११ | सन्जिता देवकोटा

काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न सुरु भए पनि समस्यामा परेका धेरै नेपाली अझै अन्यौलमा छन् । सरकारले तोकेको प्राथमिकतामा परेकाहरु पनि को कहिले फर्कने हो भन्ने टुंगो छैन । शुक्रबार यूएईबाट उडेको जहाजमा पनि यस्तै समस्या देखियो । 

अनि स्वदेश फर्कंदा कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य चाहिने व्यवस्था छ । तर परीक्षण सम्बन्धित देशको सरकारले गर्ने कि नेपालीले आफ्नै खर्चमा भन्नेबारे दूतावाससमेत अलमलमा छन् । उडानको मिति, लाग्ने खर्च कसले व्यर्होर्ने जस्ता कुरामा दूतावास प्रष्ट हुन सकेका छैनन् । शुक्रबार श्रम रोजगार पत्रकार समूहले गरेको भर्जुअल अन्तक्र्रियामा खाडीका दुई देश कतार र साउदी तथा मलेसियाका राजदूतले यस्तै समस्या सुनाए । 

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले कोरोनाको परीक्षण महँगो भएको र कसले कहाँ गर्ने भन्नेमा प्रष्ट नभएको बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षण, टिकट र उडानबारे स्पष्ट निर्देशन आउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘श्रमिकको स्वास्थ्य परीक्षण, हवाइ उडान र खर्चको बारेमा प्रष्ट निर्देशन भएपछि प्राथमिकतामा परेका नेपालीलाई स्वदेश पठाउन सहज हुने थियो ।’

मलेसियाका राजदूत उदयराज पाण्डेले स्वदेश फर्कने नेपालीको स्वास्थ्य परीक्षण आरडीटी या पीसीआर कुन विधिबाट गर्ने भन्नेबारे छलफल भैरहेको बताउनुभयो । मलेसियामा कोरोना परीक्षण त्यति महङ्गो नभएको उहाँको भनाइ छ । 

कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले कोरोना परीक्षण सरकारी अस्पतालमा हुने भएकाले सबैको लागि खुला नभएको जानकारी दिनुभयो । सरकारी अस्पतालमा बिरामी मात्र जान सक्ने र ५० वर्ष माथिकालाई प्राथमिकता दिने भएकाले कोरोना परीक्षण कसरी गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

दूतावासले कतार सरकारसँग स्वदेश फर्कने नेपालीको कोरोना जाँच सरकारी अस्पतालमार्फत गर्नका लागि अनुमति मागे पनि कतारले कुनै पनि देशलाई त्यसरी परीक्षणका लागि अनुमति नदिएको राजदूत भारद्वाजको भनाइ छ ।

निजीमा जाँच गर्न पनि अनुमति चाहिन्छ । त्यसका लागि दूतावासले अनुमति लिने प्रक्रिया थालेको छ । तर यसरी जाँच गर्दा पनि महङ्गो पर्ने हुँदा खर्चको बारेमा अझै टुङ्गो लागेको छैन । 

उडान मितिबारे पूर्व जानकारी गराउन माग

नेपालीको स्वदेश फिर्तीका लागि उडान कहिले हुन्छ भनेर कम्तिमा पनि सात दिनअघि त्यसको जानकारी दिनुपर्ने राजदूतहरुको भनाइ छ । साउदी, कतार र मलेसियाका राजदूतले पूर्व जानकारीबिनै छोटो समयमा स्वदेश फिर्तीको तयारी गर्दा समय नपुग्ने, अलमल हुने र अरु समस्या समेत आउने भएकाले पूर्व जानकारी हुनुपर्ने बताएका छन् । 

जहाज चार्टर्ड गर्दा महङ्गो हुने र कतिपय कम्पनीले अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि नै टिकट काटिदिएकाले फेरि टिकट काट्न आनाकानी गर्न सक्ने भएकाले व्यवसायिक उडान खुलाउनुपर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभयो । 

‘नियमित उडान हुँदा सजिलो हुन्छ भन्ने हो, धेरै श्रमिकसँग अहिले नै टिकट छ, कतिपय एअरलाइन्सले रकम फिर्ता गरे पनि कतिपयले गरेका छैनन्, तालिका सारेका छन्, त्यसैले सहज रुपमा स्वदेश फिर्तीका लागि व्यवसायिक उडान सुरु हुनपर्छ,’ राजदूत पाण्डेले भन्नुभयो । विभिन्न कारणले नेपाल फर्कन लागेका अरुले पनि उडान पर्खिरहेको र त्यसमार्फत निःशुल्क रुपमा श्रमिक पठाउन सकिने राजदूत पाण्डेको भनाइ छ ।

साउदीका लागि नेपाली राजदूत सिंहले भने उद्दार भन्ने शब्दले नै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्धार भन्दा त कतिपय श्रमिकले हामीले किन पैसा तिर्ने भनेर प्रश्न गर्ने भएकाले यसलाई स्वदेश फिर्ती भन्नुपर्ने पो हो कि ।’

साउदीको भूगोल पनि ठूलो भएको र छरिएर नेपालीहरु रहेकाले उनीहरुलाई सहजिकरणको प्रक्रियामा समेटेर प्राप्त तथ्यांकलाई प्रशोधन गर्नु चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।

‘नेपाली दूतावासले अझै पनि दिनरात गरेर तथ्यांक संकलनको काम गरिरहेको छ, प्राथमिकता र फ्लाइटको आधारमा लिस्ट तयार हुन्छ’ राजदूत सिंहले भन्नुभयो, ‘त्यसको लागि सरकारले १०, १२ दिन पहिले नै हामीलाई मेडिकल परीक्षणदेखि फ्लाइटको प्रष्ट जानकारी गरायो भने पठाउने काम सजिलो हुन्थ्यो ।’

अहिले दूतावासले १५ सयलाई खाद्यान्न र आवास व्यवस्था गरेको छ । तर धेरै दिनसम्म यो सम्भव नभएको उहाँको भनाइ छ ।

प्राथमिकता छुट्याउने काम चल्दै

मलेसियामा पनि स्वदेश फर्काउने नेपालीको विवरण संकलनको काम भैरहेको छ । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले ६ हजार ३ सय ४३ जनाले घर फर्कन विवरण टिपाएको जानकारी दिनुभयो ।

यसमध्ये बिरामी २०१, करार अवधि सकिएका ३ हजार ६ सय, रोजगारी गुमाएका एकहजार ३६, बिदामा बसेका १०५ र आफैं घर फर्कन चाहने ९ सय २२ छन् । तत्काल स्वदेश फर्कनुपर्नेको सूची तयार पार्ने काम भैरहेको उहाँले बताउनुभयो । तर मलेसियामा सङ्क्रमण जोखिम कम हुँदै जाँदा स्वदेश फर्कने मनस्थिति परिवर्तन गर्नेको सङ्ख्या पनि बढिरहेको छ । 

नेपालमा कोरोना संक्रमित बढ्दै गएको, तर मलेसियामा जोखिम कम हुँदै गएकाले कतिपयले यतै बस्ने मनस्थिति बनाएको राजदूत पाण्डेले बताउनुभयो । यसरी मलेसियामै बस्न चाहनेलाई आवश्यक समन्वयको काम गरिरहेको पनि उहाँको भनाई छ । ‘६ हजार जनाले स्वदेश फर्कन इच्छा देखाए पनि यो सङ्ख्या घट्न सक्नेछ, त्यसैले हामी फेरि फर्कने नेपाली कति हुन्छन् भनेर छनोट गरिरहेका छौं,’ राजदूत पाण्डेले भन्नुभयो, ‘हामीले गु्रप म्यासेज पठाउने लगायतका विकल्पहरु सोचिरहेका छौं ।’

साउदीका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले नेपाली कामदार छरिएर रहेकाले उनीहरुलाई सेवा दिनु चुनौती रहेको बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म साउदीमा झण्डै ३ लाख १५ हजार नेपाली श्रमिक कार्यरत छन् । यसमध्ये १० हजार नेपालीले स्वदेश फर्कन विवरण टिपाएका र यसलाई प्राथमिकीकरण गर्ने काम भैरहेको उहाँको भनाई छ । 

कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले ७ हजार नेपालीले स्वदेश फर्कन विवरण टिपाएका बताउनुभयो । गर्भवती, बिरामी लगायतलाई प्राथमिकता दिने गरी सूची बनाउने काम भैरहेको उहाँको भनाई छ । तर कहिले उडान हुने, कसरी हुने भन्ने कुरा स्पष्ट नहुँदा अलमल भएको छ ।

दूतावासले समस्यामा परेर स्वदेश फर्कन खोज्ने नेपालीको सूची तयार बनाए पनि कतिपय नेपालीहरु समस्यामा परे आफैं रकम तिरेर स्वदेश फर्कन नसक्ने अवस्थामा छन् । 

मलेसियामा जस्तै कतारमा पनि स्वदेश फर्कने मनस्थिति परिर्वतन गर्ने नेपालीको सङ्ख्या एक हजारभन्दा माथि छ । तर कतारमा कोरोनाको कारण निर्माण क्षेत्रमा काम कम हुने सम्भावना रहेकाले स्थिति सामान्य हुँदा कतारबाट नेपाल फर्कन सक्ने नेपालीको संख्या बढ्न सक्नेछ ।

राजदूत भारद्वाजका अनुसार, अब कोरोनाको कारण कतारमा तत्काल नयाँ रोजगारी पनि सृजना हुने सम्भावना कमै छ । त्यति मात्र होइन, महामारीको कारण एक पटक परिवार र आफन्तसँग भेटौं भन्ने मनस्थितिमा पुगेका नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया