कैलाली : अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा

 जेठ २५, २०७७ आइतबार ६:२८:१९ | सीताराम ओझा
unn.prixa.net

धनगढी - अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् ।

अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी उप–महानगरपालिकाको वडा नम्बर ४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले महिलाको मलामी गएका ४९ जना सम्पर्कमा आएको बताउनु भयो । थापाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जनागरी ४९ जना मलामी गएको पाइएको छ ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । मृतकको बसोबास रहेको महिमा टोल शनिबार साँझ नै सिल गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।

शुक्रबार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो । मोहना घाटमा अन्त्येष्टि गरिएपछि मात्र कोरोना पुष्टि भएको थियो ।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित मृतक पहिलो पटक डायलसिस गराउनका सेती अस्पताल पुग्नुभएकाे थियाे । डायलसिस अघि गरिएकाे आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलसिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि काठमाण्डौबाट उपचार गराएर फर्किएकी पाइएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया