आम्दानी घट्यो, भाउ बढ्यो : तरकारी किनेर खानै मुस्किल

 साउन ३, २०७७ शनिबार १३:१०:५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – कीर्तिपुर पाँगा दोबाटो बस्दै आएका कुमार भण्डारी तरकारीको भाउ सुन्नेबित्तिकै झस्कनुभयो । लकडाउन सुरु भएपछि केही समय सस्तो भएको तरकारी अहिले महँगो भएको छ । उहाँ भन्नुहुन्छ, ‘हिजोआज सबैजसो तरकारीको भाउ बढयो । पसलैपिच्छे फरक–फरक भाउ छ । पैसा तिरेर किन्दा पनि गतिलो केही छैन । घिरौँला हेर्‍यो किन्नै मन नलाग्ने, सागको भाउ छोइसक्नु छैन । तरकारी त हेर्दा नै किनौँ किनौँ लाग्ने भए पो !’  

कीर्तिपुरकै सुनिता महर्जनलाई पनि तरकारीको भाउ बढेकोमा चिन्ता छ । आलु, घिरौँला, भन्टा केहीको भाउ छोइसक्नु छैन ।  ‘धेरै गाह्रो छ । आज कमाएर भोलि खानुपर्नेले यस्तो महँगीमा कसरी टिक्नु ?  थोरै पैसामा नै आउने केही नि छैन’ उहाँ भन्नुहुन्छ । बन्दा, घिरौँला, भन्टा जे किने पनि महँगो भएको उहाँ बताउनुहुन्छ । 

‘बर्खा लागेर महँगो भएको होला नि । के थाहा । के निउँ पाएर भाउ बढाउँ भन्ने छ व्यापारीलाई’, उहाँ दुखेसो पोख्नुहुन्छ ।  

तरकारीको भाउ महँगो हुँदा कुमार र सुनिता मात्रै होइनन्, अरु पनि धेरै उपभोक्ता समस्यामा छन् । लकडाउनको कारण आयआर्जन घट्दा र दैनिक उपभोगका लागि नभइ नहुने तरकारीको भाउ बढ्दा  धेरै उपभोत्ता समस्यामा परेका हुन् ।   

कालीमाटीमै तरकारी महँगो 

सामान्य अवस्थामा काठमाण्डौका ठूला तरकारी बजार कालीमाटी र बल्खुमा भाउ कम हुँदा अरु खुद्रा पसलमा भाउ महँगो हुने गर्छ । तर यस पटक भने कालीमाटीमै भाउ महँगो छ । कालीमाटीमाभन्दा अरु खुद्रा पसलमा उपभोक्ताले झण्डै दोब्बर बढी मूल्यमा तरकारी किन्नुपर्छ ।

आपूर्ति कम भएकाले १५ दिनयता तरकारीको भाउ महँगो भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताउनुभयो । सामान्य अवस्थामा दैनिक सात सयदेखि आठ सय टन तरकारी भित्रिने गरेकोमा अहिले यसको आधा मात्रै आउने गरेको न्यौपाने बताउनुहुन्छ । बाढी तथा डुबानका कारण तरकारी नष्ट भएको र भएका तरकारी पनि ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएकाले ल्याउन कठिनाइ भएको उहाँको भनाइ छ ।

कालीमाटी तरकारी तथा फलफुल बजारमा मकवानपुर, चितवन, धादिङ, काभ्रेलगायतका जिल्लाबाट तरकारी भित्रिने गरेको छ । भारतबाट पनि केही परिमाणमा तरकारी आउने गरेको छ । 

यस्तो छ असार महिनाको भाउ 

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी असार महिनाभरि नै भाउ अस्थिर जस्तै छ । कहिले केही बढेको छ भने कहिले थोरै घटेको छ । असार महिनामा लौका ७० रुपैयाँसम्म पुग्यो । हरियो भटमास र काउली एक सय रुपैयाँ, लाम्चो भन्टा र गाजर ६०, तने बोडी ६५, घिउसिमी ७०, रातो आलु ५३, मुडेको रातो आलु ५१, तिते करेला ४५ रुपैयाँ, मुला ४५, डल्ले च्याउ चार सय रुपैयाँ, पाते च्याउ दुई सय ६० रुपैयाँसम्म पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यस्तै गुन्द्रुक तीन सय, तामा एक सय २०, कुरिलो दुई सय ६०, पुदिना ९०, सानो  टनेलको गोलभेँडा ४५, टनेल गोलभेँडा ३०, सेतो आलु ४६, सुकेको प्याज ३३, बन्दा २५, घिरौँला ७०, पाकेको फर्सी ३०, हरियो फर्सी ८०, चिचिण्डो ४०, परवल, ६०, घिरौँला ७०, स्कुस ६०, रायोको साग र पालुङ्गोको साग ७०, हरियो प्याज ८०, हरियो धनियाँ पाँच सय,  हरियो लसुन एक सय र भेडे खुर्सानी एक सय ६० रुपैयाँसम्म पुग्यो  । 

उपभोक्तासँगै किसान पनि मारमा

हरेक वर्ष बाढी, पहिरो तथा डुबानका कारण किसानले नोक्सानी बेहोर्दै आएका छन् । यो वर्ष अहिलेसम्म कति तरकारी नोक्सानी भयो भन्ने तथ्य आइनसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवत्ता डाक्टर हरिबहादुर केसीले बताउनुभयो । तर यो वर्ष पनि धेरै जिल्लामा बाढी, पहिरो तथा डुबानका कारण तरकारीबालीमा नोक्सानी भएको उहाँले बताउनुभयो ।

सबै जिल्लाको क्षतिको विवरण अहिले प्रदेश अन्तर्गतका कृषि कार्यालयहरुले सङ्कलन गरिरहेका र अबको एक हप्तामा देशभरको विवरण आइसक्ने उहाँले बताउनुभयो । अझै मनसुन सक्रिय हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको समस्या कायम नै भएकोले अझै नोक्सानी हुने सम्भावना छ । धेरै पानी नपरे वा पानी छिट्टै सुकेमा भने सोचेजस्तो धेरै क्षति नहुन पनि सक्ने उहाँले बताउनुभयो । 

किसानलाई खेतबारीमा उब्जाएको तरकारी बजारसम्म पुर्‍याउनै गाह्रो छ । तरकारी किन्न खेतसम्म थोक व्यापारी गए पनि उब्जनीको थोरै कम मात्रै मूल्य पाउने समस्या छ । एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । सरकारको उचित नीति र संयन्त्र प्रभावकारी नहुँदा न किसानले मूल्य पाएका छन्, न उपभोक्ताले राहत नै । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Saroj Gotame

    July 18, 2020, 7:01 p.m.

    आफ्नो खाली ठाउँमा तरकारी रोप्न पर्यो / फूर्सदमा टिकटक र फेसबुक हेर्दै ब्यस्त छन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया