२१ हजारमा काेराेना सङ्क्रमण : कुन उमेर समूहका कति ?

 साउन २१, २०७७ बुधबार १४:३६:५३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये युवाको सङ्ख्या धेरै रहेको पाइएको छ । अहिलेसम्म २१ हजारमा कोरोना पुष्टि भएकोमा युवाको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका सात हजार सात सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका चार हजार नौ सय ८७ जना, ११ देखि २० वर्ष उमेर समूहका तीन हजार नौ सय ५४, ४१ देखि ५० वर्ष उमेर समूहका दुई हजार एक सय ५० जना रहेको मन्त्रालयले जनाएको छ । 
यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका आठ सय ४६ जना, एक देखि १० वर्ष उमेर समूहका आठ सय ४४ जना, ६१ देखि ७० वर्ष उमेर समूहका दुई सय ८४ जना, ७१ देखि ८० वर्षसम्मका ७५ जना र ८० वर्षमाथिका १८ जनामा कोरोना सङ्क्रमण भएको छ । 

 

सुरुका दिनमा विदेशबाट आएकामा कोरोना देखिएको थियो । विषेश गरी कामको सिलसिलामा विदेश जाने युवाको उमेर २१ देखि ३० वर्षसम्म भएकाले यो उमेर समूहका धेरैमा सङ्क्रमण भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको तर्क छ । यस्तै ११ देखि ५० वर्ष उमेर समूहका मानिस घरबाहिर निस्कने भएकाले यी उमेर समूहका धेरैमा कोरोनाको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । 

उहाँले अहिलेसम्म कोरोना समूहमा देखिएको भए पनि समुदायस्तरमा भने नफैलिएको दाबी गर्नुभयो । ‘समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको भन्नका लागि विभिन्न मापदण्ड पूरा हुनुपर्छ, नेपालमा अहिलेसम्म ती मापदण्ड पुरा भएका छैनन्’, उहाँको भनाइ छ । 

लकडाउन खुलेपछि कति सङ्क्रमित थपिए ?

सरकारले केही प्रतिबन्धसहित लकडाउन हटेको घोषणा गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन ७ देखि १२ गतेसम्म एक सय ५० को हाराहारीमा सङ्क्रमित थपिएकामा १३ गते तीन सय ११ जनामा कोरोना पुष्टि भयो । १४ देखि १६ गतेसम्म फेरि तीन सयभन्दा कममा सङ्क्रमण पुष्टि भएकोमा १७ गते फेरि तीन सय १५ जना नयाँ सङ्क्रमित थपिए । यस्तै १८ गते दुई सय ४६, १९ गते चार सय १८ र २० गते दुई सय ५९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

काठमाण्डौ भित्रिने मुख्य नाकामा आइपुगेकाको सरकारले कोरोना परीक्षण थालेको छ । अहिलेसम्म नागढुङ्गा, फर्पिङ र साँगाबाट १० हजार आठ सय ५३ जनाको स्वाब सङ्कलन गरिएकोमा १० हजार आठ सय १२ जनाको रिपोर्ट आउँदा ४० जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । 

लकडाउन खुलेपछि मानिसले लापर्वाही गरेकोले सङ्क्रमितको सङ्ख्या बढिरहेको मन्त्रालयको बुझाइ छ । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले एक व्यक्तिले हेलचेक्र्याइँ गर्दा परिवार र समुदायमात्र नभइ देश नै सङ्कटमा पर्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो । उहाँले लकडाउन खुल्यो भन्दैमा जथाभाबी भेटघाटमा नजान, कतै जानैपर्ने भए अनिवार्य मास्क लगाउन, व्यक्तिगत दुरी कायम गर्न र मिलेसम्म साबुन पानीले, नमिले स्यानिटाइजरले बेलाबेला हात सफा गर्न सुझाव पनि दिनुभयो । 

कतिको अवस्था जटिल ? 

मङ्गलबारसम्म २१ हजार नौ जनामा कोरोना पुष्टि हुँदा ४३ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको छ । वाग्मती प्रदेशमा २३, प्रदेश २ मा १२, प्रदेश १ मा पाँच, प्रदेश ५ मा दुई तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४३ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको हो । 

सङ्क्रमित शून्य रहेका जिल्ला 

भोजपुर, सङ्खुवासभा, मनाङ र मुस्ताङमा अहिले सक्रिय सङ्क्रमित छैनन् । यसअघि केहीमा सङ्क्रमण भए पनि उनीहरु सबै जना निको भएर घर फर्किएपछि यी जिल्लामा सक्रिय सङ्क्रमितको संख्या शून्यमा झरेको हो । 

अहिलेसम्म कतिको परीक्षण ? 

अहिलेसम्म नेपालमा चार लाख ६ हजार जनाको कोरोना परीक्षण गरिएकोमा २१ हजार नौ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् । पाँच हजार नौ सय २५ जना आइसोलेशनमा र १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पर्सामा सोमबार बिहान ज्यान गुमाएकी एक किशोरीको रिपोर्ट पोजेटिभ आएको तथा बुधबार बिहानै एक पुरुषको ज्यान गएसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया