नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

 असोज ८, २०७७ बिहिबार १५:३२:९ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र(अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
 
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यसबाट नेपाली श्रमिकलाई फाइदा हुनेछ । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् ।
 
विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको छ ।

इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गर्नुभएको थियो ।

भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव घिमिरे, इजरायलको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

यसैबीच नेपाली दूतावासले इजरायलमा जान चाहनेले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने मनशायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकामा ध्यानाकर्षण भएको जनाएको छ । 

यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने दूतावासले जनाएको छ ।

केयर गिभरमा कस्ता व्यक्ति जान पाउँछन् ?

केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ । 

यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ ।

त्यस्तै यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका बाहेक निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाले कुनै हल्लाको पछाडि नलाग्न दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया