वडासदस्य नै काम खोज्दै कुवेतमा

 साउन २५, २०७५ शुक्रबार १८:३०:११ | एलबी थापा

प्यूठान – आफूले चुनाव जितेमा गाउँमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश जान नदिने भन्दै भोट मागेर चुनाव जितेका प्यूठानका एक जना जनप्रतिनिधि आफैँ वैदेशिक रोजगारीमा गएका छन् । 

प्यूठान स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर काम खोज्दै कुवेत जानुभएको हो । स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित पुन मगर चुनाव सकिएको वर्ष दिन नपुग्दै विदेश जानुभएको हो । 

घरको आर्थिक स्थिती कमजोर भएपछि उहाँ दुई महिना अघि नै कुवेत गएको स्थानीयबासिन्दाले बताएका छन् । गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निराश भएका छन् ।

गाउँमै केही गर्न सकिन्छ भन्ने आशमा रहेका उहाँका दौतरी र स्थानीयबासिन्दले जनप्रतिनिधि नै विदेश गएकाले गाउँमै धन कमाउने मेसो नभएको प्रतिक्रिया दिने गरेका छन् । स्थानीय तह चुनावमा पुन मगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मतसहित वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तर उहाँ विदेश गएको कसैलाई थाहा थिएन । गाउँबाट सुटुक्क विदेश पुगेका नारायणका बारेमा वडा अध्यक्ष मेघराज जिसीले उहाँ विदेश पुगेपछि मात्र थाहा पाएको बताउनुभयो ।

‘काठमाडौंमा कामका लागि बेला बेला जाने गरेको त थाहा पाएको थिएँ’, जिसीले भन्नुभयो, ‘कुवेत पुगेपछि मात्र विदेश गएको थाहा भयो ।’वडा अध्यक्ष जिसीले आफूहरुसँग विदेश जानेबारे कुनै सल्लाह नै नगरेको जानकारी दिनुभयो ।

विदेश पुगेपछि पुनमगरले फोन गर्दै चुनावमा उठेर गल्ती गरेको बताएका जिसीले बताउनुभयो  । आफूसँगको कुराकानीमा नारायणले गाउँमा समाजसेवा मात्र ठूलो नभएको भन्दै परिवार पाल्नको लागि आफू विदेशिनु परेको बताएको वडाध्यक्ष जिसीको भनाइ छ । 

परिवारले बुझे तलब

वडा सदस्य पदबाट राजीनामा नदिइकनै विदेश गएका वडा सदस्य पुन मगरको तलब परिवारले बुझेका छन् । निर्वाचित पुन मगरका परिवारले निर्वाचनपछि ८ महिनाको ७ हजारका दरले ५६ हजार रुपैयाँ तलब बुझेका हुन् । ८ महिना उहाँले वडा सदस्य भएर काम गर्नुभएको थियो । 

उहाँका घरमा बुवाआमा,श्रीमती र एक छोरा छन् । घर व्यवहार धान्ने एक्लो जिम्मा पुन मगरकै रहेको स्थानीयको भनाइ छ । उहाँ वडा सदस्यमा निर्वाचित हुनु अघि पनि रोजगारीका लागि विदेश नै जानुभएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • ram

    Sept. 6, 2018, 9:32 p.m.

    के गरुन त विचरा, ७ हजारले के गरे /

  •  0 Reply
  • Suraj sangam

    Aug. 10, 2018, 11:10 p.m.

    जन्ताको सेवा गर्छु भनि मैदान मा उत्रिएको जनप्रतिनिधि बिचमै बिदेश पलाएन । योत जनतालाई धोका भयो

  •  0 Reply

तपाईको प्रतिक्रिया