साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको शव नजलाइने, शिक्षण अस्पताललाई दान

 साउन २६, २०७५ शनिबार ९:५०:२३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि काठमाडौंको मण्डिखाटारमा रहेको घरमा राखिएको छ ।

दाहालकी श्रीमती सुदा र आमाले सेतो कपडा ओढाएपछि उहाँकाे शव श्रद्धाञ्जलीको लागि राखिएको हो । श्रद्धाञ्जलीको लागि दुई घण्टा घरमा राखेपछि दाहालको इच्छा अनुसार नै दिउँसो १२ बजे उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गर्ने तयारी छ ।

यस्तै श्रद्धाञ्जलीमा राखिएकाे दाहालको शवमा अबिर र फूलमाला नचढाउन पनि आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको उनीहरुले बताएका छन् । गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । लडेपछि उहाँको टाउको रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उहाँको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।

दुई दिन काठमाडाैंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उहाँलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उहाँको सुमेरु अस्पतालमा हिजो निधन भएको हाे ।

२०५७ साल फागुनमा दुवै मृर्गौलाले काम नगरेपछि दाहालले मृर्गौला फेर्नुभएको थियो । तर फेरिएको मृर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उहाँले नियमित डायलाइसिस गराउँदै आउनुभएको थियो । उहाँले केही समययता हप्तामा तीन दिन डायलाइसिस गराउने गर्नुभएको थियो । 

नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित दाहाल यज्ञनिधि २०१० सालमा खोटाङको खाल्लेमा जन्मनुभएको थियो । रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्छ । २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा त्यो कार्यक्रम चलाउनुभयो । 

रेडियो नेपालमा २०३४ साल कात्तिक ११ गतेदेखि औपचारिक करार सेवा सुरु गरेका दाहाल यज्ञनिधिले ०५७ साल असार मसान्तसम्म रेडियो नेपालमा करारमा जागिर खानुभयो । २३ वर्षसम्म “जदौ” भन्दै रेडियो नेपालमा उद्घोषण गरेका दाहालले ‘साहित्य संसार’, ‘प्रवासका कुरा’, ‘हाम्रो संस्कृति’ ‘हाम्रो परम्परा’जस्ता कार्यक्रम चलाउनुभयो । 

मृर्गौला फेल भएपछि थलिएका दाहाल मृर्गौला फेरेर हिँडडुल गर्न सक्ने भएपछि ०५९ जेठ–असारमा एचबीसी एफएम प्रवेश गरेर त्यो रेडियो रहुन्जेल २०६५ माघसम्म त्यहाँ कार्यक्रम चलाउनुभयो । त्यसपछि रेडियोमा बोल्न छाडेका दाहाल पोहोर साउन महिनादेखि रेडियो अन्नपूर्णमा कार्यरत हुनुहुन्थ्यो । उहाँले अघिल्लो शनिबार आफ्नो अन्तिम कार्यक्रम रेडियो अन्नपूर्णमा चलाउनुभएको थियो । 

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई विस्तार गर्नुभएका साहित्यकार दाहाल यज्ञनिधिको ‘जदौका निबन्ध’ नामको एकमात्र कृति प्रकाशित छ । ६५ वर्षका दाहाल काठमाडौंको मण्डिखाटारमा रहेको घरमा आमा र श्रीमतीसँग बस्दै आउनुभएको थियो । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया