सीमामा ढलेर दोदामा बिलाएका गोविन्दहरु

 कात्तिक ५, २०७७ बुधबार ७:८:१३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – तीन वर्षको अन्तरालमा कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित दोदा नदीको किनारमा उच्च सम्मानका साथ दुई जनाको अन्त्येष्टि गरिएको छ । दुवैको पृष्ठभूमि फरक भए पनि समानताका विषयहरु पनि प्रशस्त छन् । जिल्ला र पालिका मात्रै होइन संयोगले उनीहरुको नाम पनि एउटै परेको छ । शहीद गोविन्द गौतम र असइ गोविन्द बिक । 

फरक यति मात्रै हो, गोविन्द गौतम सीमा रक्षाका लागि सहिद भए । गोविन्द बिकले कर्तव्य पालना गर्दागर्दै ज्यान गुमाउनुपर्यो । 

फरक पृष्ठभूमिका समानताहरु 

सोमबार दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिका ९ दोदा नदीको किनारमा उच्च सम्मानसहित गोविन्द बिकको अन्त्येष्टि गरिंदै थियो । कोरोना कहरका बीच पनि बिकको अत्येष्टिमा सहभागी हुनेहरुको संख्यामा कमी थिएन ।

उहाँको अन्त्येष्टिमा प्रदेश प्रमुखसहित प्रदेशसभाका सदस्य, मेयर तथा सयौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए । उहाँलाई पुनर्वास ९ दोदा नदीको कीर्तिपुर घाटमा प्रहरीको सम्मानका साथ शोक सलामी सहित अन्त्येष्टि गरिएको हो । 

त्यही दोदा नदीमा तीन वर्षअघि अर्का गोविन्दको त्यसैगरी अन्त्येष्टि गरिएको थियो । कीर्तिपुर घाटबाट झण्डै चार/पाँच किलोमिटर वर (धनगढीतर्फ) पचकडिया घाट पर्छ । त्यही घाटमा राष्ट्रिय सम्मानका साथ शोक सलामी सहित गौतमको अन्त्येष्टि गरिएको थियो । उहाँको अन्त्येष्टिमा पनि हजारौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए। 

गौतमलाई सरकारले शहीद घोषणा गरेपछि राष्ट्रिय सम्मानका साथ शहीदको सलामी दिइएको थियो भने बिक बहालवालामा रहेकाले प्रहरीको सलामी सहित अन्त्येष्टि गरिएको हो । 

यसरी ढले गोविन्द

सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न राज्यले सुम्पिएको दायित्व निर्वाह गर्दागर्दै पुनर्वास नगरपालिका ९ ‘ख’ गाउँ सीमाबस्तीका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्या भयो । कैलालीको धनगढी उपमहानगरपालिका– १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज बिकको शनिबार राति गस्तीमा गएका बेला तस्करको समूहले हत्या गरी मोहना नदीमा फालिएको अवस्थामा शव फेला परेको हो । 

अर्का गोविन्द गौतमको भने २०७३ साल फागुन २६ गते नेपाल भारत सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएको थियो । गौतमको हत्यामा संलग्नको हालसम्म पहिचान हुन सकेको छैन ।

दुवै देशका सरकारले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्ने प्रतिवद्धता जनाएको वर्षाैं  बितिसकेको छ । तर अहिलेसम्म दोषीमाथि कारबाही भएको छैन । 

यता आइतबार बिहान मोहना नदीमा शव भेटिएका असइ गोविन्द बिकको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको मंगलबार शव भेटिएको छ । साउदलाई पनि तस्करहरुको समूहले हत्या गरी नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया