बाग्लुङका युवाले सम्पत्ति हड्प्न पाल्पाबाट नागरिकता  बनाएको खुलासा

 पुस १७, २०७७ शुक्रबार १२:२८:३० | देव पचभैया
unn.prixa.net

पाल्पा - सम्पत्ति हडप्नका लागि बाग्लुङका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएकाे खुलेकाे छ ।  रामपुर नगरपालिका वडा नंं १४ का ४८ वर्षका पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङ गलकोट नगरपालिकाका २२ वर्षीय धनबहादुर कँडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएको खुलेको हो । 

बाग्लुङको गलकोट नगरपालिका ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कँडेलले धनबहादुर आफ्नै वडावासी भएको जानकारी दिनुभयो ।   नयाँ नाम नवराज अधिकारी कायम गरी धनबहादुरले नागरिकता बनाएका हुन् ।  नागरिकता बनाउन सफल भएपछि उनले पिताम्बर अधिकारीलाई अंश मुद्दा पनि हालेका छन् ।

नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेद्वारा जारी गरिएको छ ।  

पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसँग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाइ कृष्णप्रसादले नागरिकता बनाइदिएर आफ्नो सम्पत्ति हडप्ने प्रयास गरेको दाबी गर्नुभयो । 

आफू बिरामी भएको बेला  २०७२ सालमा आफ्नै भाइ कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिकता बनाइदिएको उहाँको दाबी छ । पिताम्बरका भाइ कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले मानबहादुरलाई छोरो बनाएर लिएको दाबी गर्नुभयो ।  पछि पिताम्बर र मानबहादुरबीच विवाद भएपछि पिताम्बरले बेवास्ता गरेको र आफूले नागरिकता बनाउन भने सहयोग गरेको कृष्णप्रसादको भनाइ छ ।  

मानबहादुरका साइला बुवा इन्द्रबहादुर कँडेलकी बुहारी तिला कँडेलले मानबहादुरले पाल्पाबाट नागरिकता बनाएको आफूले जानकारी पाएको बताउनुभयो । यसअघि गाउँमा आउँदा आफूले नागरिकता बनाइसकेकाले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने प्रतिक्रिया मानबहादुरले दिएको उहाँको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेस गरेर नागरिकता बनाएको पाइए छानबिन गरेर कारबाही गरिने बताउनुभयो ।  नागरिकता बनाउने र बनाइदिने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ ।  

नागरिकता बनाउने र बनाइदिनेलाई कारबाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया