जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
डा. तारानाथ पोख्रेल
कोरोनाविरुद्धको खोप लगाएकाहरुमा सामान्य असरहरु मात्र देखिएका छन् । जम्मा ८ जनालाई मात्र गम्भीर अथवा अस्पताल नै भर्ना गर्नुपर्ने गरी समस्या देखिएको थियो । भर्ना भएकाहरु सबै डिस्चार्ज भइसकेका छन् । फेरि त्यस्तो समस्या देखिएको छैन । धेरैको संख्यामा खोप लगाउँदा ८ जनालाई मात्र समस्या देखिनु सामान्य नै हो ।
१ लाख ८५ हजार स्वास्थ्यकर्मीसँगै स्वास्थ्य सेवा प्रदान गर्ने अन्य व्यक्ति, उहाँहरुलाई सहयोग गर्ने कर्मचारीहरु, ज्येष्ठ नागरिक र कैदीबन्दीलाई खोप लगाएकोमा ८ जनाबाहेक कसैलाई पनि गम्भीर नहुनुलाई खोप सुरक्षित नै हो भन्ने मान्न सकिन्छ । सामान्य असरहरु त देखिन्छन् नै भन्ने बुझ्नुपर्छ ।
खोपले शरीरमा काम गर्न वा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन सामान्य प्रतिक्रिया देखिने गर्छ । खोप लगाएको १५ मिनेटदेखि आधा घण्टाभित्र कडा खालको रियाक्सनहरु जस्तै बेहोस जस्तो हुने, श्वास फेर्न गाह्रो हुने, हातखुट्टा निलो हुनेलगायतका समस्या देखिन सक्छ । यस्तो गम्भीर समस्या हो ।
खोप लगाउने ठाउँमा स्वास्थ्यकर्मी, विज्ञलगायतको टोली पनि हुने भएकाले यस्ता समस्या देखिएमा तत्काल उपचार गर्ने व्यवस्था गरिएको हुन्छ । पहिलोपल्ट खोप लगाएकाहरुलाई पनि बढी खोपको असर देखिने गर्छ ।
खोप लगाएकै कारण गम्भीर खालको एलर्जी भएमा दोस्रो डोज लगाउनु हुँदैन । तर सचेत हुनुपर्छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । खोप लगाउने बित्तिक्कै लक्षण नदेखिएकालाई केही दिनपछि पनि सामान्य समस्या हुन सक्छ । जस्तै दुख्ने, जाडो भएजस्तो हुने, ज्वरो आउन लागेजस्तो हुने, जीउ दुख्ने, कटकट खाने जस्ता लक्षण देखिन सक्छन् ।
यी लक्षण भाइरल इन्फेक्सन हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो हुन्छ । यस्तो हुनु सामान्य भएकाले आत्तिनु पर्दैन । एक/दुई दिनभित्र ठिक हुन्छ । खोप लगाइसकेपछि सामान्य खालका लक्षण देखिएन भने खोपले काम गर्दैन भन्ने कतिपयको बुझाइ छ । तर त्यो गलत हो । सामान्य लक्षण देखिए पनि, नदेखिए पनि खोपले गर्ने असरले खासै फरक पार्दैन ।
तर कुनै औषधिको प्रयोग गरेपछि वा खोप लगाइसकेपछि त्यसका केही अवाञ्छित असरहरु भने धेरैमा देखिन्छ । वैज्ञानिकहरुले यस्ता लक्षण नदेखियोस् भनेर कोशिस गर्दागर्दै कसैलाई पनि सामान्य खालका असर नै नदेखिने औषधि वा खोप बनेका छैनन् ।
धेरै असर गर्ने र थोरै असर गर्नेमा व्यक्तिको प्रतिरोधात्मक क्षमतामा भर पर्छ । यस्तो क्षमता हरेक व्यक्तिमा फरकफरक हुन्छ ।
बालबालिकालाई लगाइने नियमित खोपहरु, गर्भवती महिलालाई दिइने खोप लगाउँदा केही न केही सामान्य खालका लक्षणहरु देखिने नै गरेको छ । त्यस्ता लक्षणहरुलाई सजिलै पचाउन सकिन्छ । कोरोनाको हकमा पनि त्यस्तै हो । कोरोनाको खोप लगाएपछि अहिलेसम्म देखिएको लक्षण पनि त्यस्तै हो ।
पहिलो खोप लगाउँदा गम्भीर लक्षण देखियो भने दोस्रो डोज लगाउन हुँदैन भन्नुको अर्थ पहिलो खोपले नै काम गर्छ भन्ने होइन । तर जीवनकै लागि खतरा छ भन्ने प्रमाणित भएमा नलगाउँदा नै राम्रो हुन्छ ।
रोग लाग्ने सम्भावना नै भए पनि लगाउनु भएन । फागुन २ गतेदेखि पालिकाका निर्वाचित जनप्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारी, बैँकका कर्मचारीहरु र अन्य वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरुलाई पनि खोप दिइन्छ ।
खोप लगाउनु अगाडि स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य स्थितिको जानकारी दिनुपर्छ । गर्भवती वा गर्भधारण गर्ने सोच भए अथवा स्तनपान गराइरहेको भए पनि खोप लगाउनुअघि स्वास्थ्यकर्मीलाई बताउनुपर्छ ।
पहिलो खोप लिएको ४ देखि ६ हप्ताको अन्तरमा दोस्रो डोज लिइन्छ । अन्तिम क्लिनिकल ट्रायलमा देखिएअनुसार दुई मात्रा खोप लिएपछि कोभिडबाट सुरक्षित रहन सकिन्छ । यो सुरक्षा कति दिनका लागि हो भन्ने पुष्टि हुन बाँकी छ । दोस्रो मात्रा लिएको चार हप्तापछि शरीरमा कोभिडविरुद्ध एन्टिबडी बन्न थाल्छ ।
(स्वास्थ्य मन्त्रालयका परिवार कल्याण महाशाखाका निर्देशक डा. पोखरेलसँगको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।