भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाएपछि नेपालमा पनि असर पर्ने

 चैत १२, २०७७ बिहीबार १०:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । भारतको यो निर्णयले नेपालमा पनि असर पर्ने भएको छ ।

नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ । 

भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । ‘खोप खरिद गरिसकेकाले नपठाउनुको विकल्प हुँदैन, कति समयपछि पठाउँछ भन्ने मात्र हो ’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले भन्नुभयो । 

भारतीय खोप उत्पादक कम्पनीले खोपको पैसा लिइसकेकाले उसले खोप पठाउनै पर्ने उहाँले बताउनुभयो । यसबीचमा कम्पनीसँग भएको छलफलमा नेपाललाई प्राथमिकतामा राखेर खोप दिने प्रतिबद्धता आएकाले ढिलो गरी भए पनि खोप आउने उहाँले बताउनुभयो ।

भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ । 

नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो । यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो ।

यसपछि भारतसँग सरकारले २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोजमात्रै भित्रिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो । 

दोस्रो डोजको खोपबारे पनि अन्योल

कोरोनाविरुद्धको पहिलो डोज लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भनिए पनि अन्योल भएको छ । भारतसँगै कोभ्याक्स सुविधामार्फत आउने बाँकी खोप कहिलेसम्म आउँछ भन्ने निश्चित भइनसकेकाले यसबारे स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ । 

विश्व स्वास्थ्य संगठनले पहिलो मात्राले ७० प्रतिशत काम गर्ने भएकाले दोस्रो मात्रा लगाए पनि असुरक्षित नहुने बताएपछि दोस्रो मात्रा दिने या नदिने भन्नेबारे मन्त्रालयले छलफल थालेको हो । नेपालमा अहिले सात लाख डोज खोप मौज्दातमा छ ।

मौज्दातमा रहेको यही खोप पहिलो डोज लगाएकाहरुलाई दिने भनिएको थियो । तर अब बाँकी रहेको यो खोप पहिले लगाएकालाई दिने कि नयाँलाई दिने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 

‘दोस्रो मात्रा नपाए पनि असुरक्षित भइन्छ भन्ने होइन, विश्व स्वास्थ्य संगठनले पनि एक मात्रा मात्रै लगाए पनि ७० प्रतिशत सुरक्षित रहने बताइसकेको छ’ स्रोतले भन्यो-‘दोस्रो मात्रा दिने की नदिने भन्नेबारे छलफलमा छौं । केही दिनमा निर्णय हुनेछ ।’

नेपालमा अहिलेसम्म १६ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो भने दोस्रो अभियानमा ६५ वर्षभन्दा माथिकालाई खोप दिइएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षमाथिकालाई खोप दिइएको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया