छुवाछूत उन्मूलन दिवस मनाउने तयारी

 जेठ १७, २०७५ बिहिबार १९:३२:१६ | अमर सुनार

दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।

दलित नागरिक समाजको आग्रहमा बिहीबार दैलेखमा बसेको पूर्व तयारी बैठकले पहिलो पटक सरकारी पहलमा छुवाछूत उन्मूलन दिवस मनाउने तयारी भएको हो । दैलेखको सदरमुकाम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको संयोजकत्वमा र सदरमुकाम बाहिर सबै गाउँपालिका अध्यक्ष र नगरपालिकाहरुमा नगरप्रमुखको संयोजकत्वमा मूल समिति गठन गरी छुवाछूत दिवस मनाउन ११ वटै स्थानीय तहलाई परिपत्र गरिएको स्थानीय समन्वय अधिकारी नारायण कुवँरले बताउनुभयो ।

पूर्वतयारी बैठकमा नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, शिक्षा इकाई प्रमुख बिष्णुप्रसाद अधिकारी, नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मी बिक, उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, नेपाल बारका अध्यक्ष यामराज थापा, गैसस महासंघका अध्यक्ष महारुप खत्री लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

बैठकले जेठ २१ गते बिहान दैलेखका ३ वटै एफएम रेडियोबाट जातीय विभेद उन्मूलनका रेडियो सम्बाद कार्यक्रम गर्ने र गैसस महासंघले त्यसै दिन साँझ दैलेख सदरमुकामको देवकोटाचौकमा दीपावली गर्ने मैनबत्ती र कोणसभाका लागि प्रयोग हुने व्यानर लेख्ने व्यवस्था गर्ने निर्णय गरेको छ । 

तत्कालिन प्रतिनिधिसभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको सन्दर्भमा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले निर्णय गरे अनुरुप ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाउन लागिएको पत्रकार अमर सुनारले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया