५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्ति चापागाउँमा प्रतिस्थापन

 बैशाख ७, २०७८ मंगलबार १०:६:४५ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर - ललितपुरको चापागाउँबाट ५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्तिलाई चापागाउँमा नै प्रतिस्थापन गरिएको छ ।

काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको मूर्तिलाई हिजो सोमवार सिन्दुर जात्रा गरेर चापागाउँ बसपार्कमा रहेको आगँछेय्मा प्रतिस्थापन गरिएको हो।

गोदावरी नगरपालिका र बज्रबाराही खः गुठीको संयुक्त प्रयासमा मूर्तिलाई आफ्नै ठाउँमा प्रतिस्थापन गरिएको हो । ​

२०२५ सालमा बज्रबाराही माईको मूर्ति आगछेँय्बाट चोरी भएको र पछि त्रिभुवन विमानस्थलमा फालिरहेको अवस्थामा भेटिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताउनु भयो। उहाँका अनुसार मूर्तिलाई विदेश लैजान नसकेपछि त्यही नै फालेको अनुमान छ।

यसरी चोरीपछि फेला परेको मूर्तिको सुरक्षाको ग्यारेन्टी भएको खण्डमा मात्रै मौलिक ठाउँमा नै प्रतिस्थापन गरिने व्यवस्था भएकोले चोरी भइसकेको मूर्ति फेरि पनि चोरी होला भन्ने आशङ्कामा सुरक्षाको लागि बज्रबाराही माईको मूर्तिलाई २०२९ सालमा राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा राखिएको थियो।

कानुनी प्रक्रिया पूरा गरेर पुरातत्व विभागको निर्णय अनुसार गोदावरी नगरपालिकाका मेयर, उपमे​यर, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि र स्थानीय खः गुठीयारका गुठीयारहरूको उपस्थितिमा हिजो सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले खः गुठीलाई मूर्ति विधिवत रुपमा हस्तान्तरण गर्नु भएको हो।

आउँदो वैशाख १३ गते चैत शुक्ल पूर्णिमाको अवसरमा बज्रबाराही माईको जात्रा गरिने परम्परा छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया