पालमुनि लालाबाला : एकैपटक विस्थापित भए एकसय ४८ परिवार

 भदौ ६, २०७५ बुधबार १८:२३:२१ | निमेन्द्र शाही

बाजुरा –बुढीगंगा नगरपालिका १ मल्लोकुडीका चन्द्र परीको परिवार बेलुकाको खाना खाएर भोलिको कामको सल्लाह गरेर सुतेका थिए ।

रात छिप्पिंदै जाँदा गड्याङगुडुङ्ग आवाज आयो । घर पुरै हल्लियो । के भयो भनेर सोच्न नभ्याउँदै घर पहिरोले बगायो । चल्द्रले हतार हतार भागेर ज्यान बचाउनुभयो । उहाँकी श्रीमती ४५ वर्षीया कलालाई पहिरोले पुर्‍यो ।

बिर्सनै नसक्ने त्यो कहालीलाग्दो क्षण सम्झँदै चन्द्रले भन्नुभयो, ‘गाउँमा कोलाहल थियो, कला पनि भागेर आएकी छ कि भनेर यताउता हेरें, कतै नदेखेपछि उ पहिरोमा पुरिएको हो कि भनेर खोज्न थालें,  केहीबेरमा बेहोस भएछु, अरुले मलाई पहिरोबाट स्कुलमा ल्याएछन् ।’ 

उहाँको घर मात्र होइन, गाउँका अरु घर पनि पहिरोले बगाएको छ । पहिरोमा घर बगेपछि विस्थापित भएकाहरु अहिले गाउँको कुडीकोट आधारभुत विद्यालयमा बसिरहेका छन् । कोही मन्दिरमा पनि बस्छन् ।

बुढीगंगा गाउँपालिकाको यो गाउँ भिरालो ठाउँमा भएका कारण सबै घर चिरा चिरा भएका छन् । गाउँ पुरै पहिरोमा बदलिएको छ ।

‘एक दुई जनालाई भए व्यवस्था गरौं भन्नु, पुरैको पुरै गाउँमा यस्तो समस्या छ, कसरी सहयोग गर्ने भन्ने नै कठिन छ’ वडाध्यक्ष राजेशबहादुर सिंहले बताउनुभयो ।उहाँले थप्नुभयो, ‘गाउँका एकसय ४८ घर परिवार विस्थापित भएका छन् । जिल्ला, प्रदेश र केन्द्रबाट ठूलो राहत नआएसम्म केही गर्न सकिने अवस्था छैन ।’

भदौ १ गते राति आएको अविरल वर्षाले गाउँमा पहिरोको समस्या निम्त्याएको हो । विद्यालय र मन्दिरमा पाल टाँगेर बसेका विस्थापितलाई खाने, बस्नेको समस्या छ ।
बालबच्चासँग पालभित्र बसिरहनुभएकी बेलु साउदले भन्नुभयो, ‘साना केटाकेटी हुने हामीलाई समस्या छ, न त लगाउने लुगा छन् । न त केटाकेटीलाई केही खुवाउन पाइएको छ ।’ विस्थापित बालबालिका बिरामी पर्न थालेका छन् । 

जिल्ला प्रशासन कार्यलय दैवी प्रकोप उद्धार समितिले तीनवटा पाल मात्र दिएको पीडित परिवारले बताएका छन् । नगरपालिकाले कुनै पनि राहतको सामग्री दिएको छैन । चिसो र खुला ठाउँमा बस्दा सुत्केरी, बालबालिका तथा बृद्धबृदाहरुमा रोगको संक्रमण हुन थालेको छ । 

पहिरोले पाकेको मकै, धान, कोदो सबै लगेपछि खाद्यान्नको समेत समस्या भएको छ । गाउँका पुरुष प्रायः कामको सिलसिलामा भारत गएका छन् । गाउँमा महिला, बालबालिका तथा बुढाबुढी मात्र छन् ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया