महामारीमा हुने मानसिक समस्या कम गर्न व्यक्ति र परिवारको भूमिका

 वैशाख ३१, २०७८ शुक्रबार १२:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

हामी अहिले महामारीको समयमा छौँ । यो बेला दुःखी हुनु, चिन्ता लाग्नु, अलिकति डराएको जस्तो महसुस हुनु, रिसाउनु, निद्रा नलाग्नु सामान्य कुरा हो । यो सामान्य कुरा हो भन्दा भन्दै कहिलेकाहीँ यसले जीवनमा नकरात्मक असर पनि पार्दछ । यो बेला हुने यस्ता समस्या कम गर्न स्वयं व्यक्ति र परिवारको ठूलो जिम्मेवारी रहन्छ । 

सबैभन्दा पहिले त व्यक्तिले नै यस समयमा आफूलाई कुनै त्यस्तो भोगाई महसुस भइरहेको छ भने त्यसको बारेमा आफन्त साथीभाइहरुमा सहयोग माग्नु पर्छ ।  मनको कुराहरु परिवारसँग पोख्नुपर्छ । जब कसैले म डराइरहेको छु, म दुःखी छु, मलाई आत्महत्याको सोच आउँछ भन्छ भने यसलाई गम्भीर रुपमा लिनुपर्छ । योबेला परिवार आफन्तले पनि समय दिएर उसको कुरा सुनिदिनुपर्छ । 

कहिलेकाहीँ हामी सुन्नुभन्दा बढी हत्तपत्त सुझाव सल्लाह दिन थाल्छौँ । यो राम्रो हैन । किनकी हरेक व्यक्तिमा आफूलाई आइपर्ने तनावसँग ‘डिल’ गर्न सक्ने क्षमता हुन्छ । मात्र के हो भने, कहिलेकाहीँ तलमाथि भएको बेलामा यदि राम्रोसँग सुनिदिने, सहयोगको लागि उपलब्ध भइदिने, दयालु, मायालु भावनाहरु प्रकट गरिदिने र सक्दो आवश्यक मद्दत गरिदिने हो भने, यस्ता मान्छेको लागि सजिलो हुन्छ । 

अहिले कोरोना संक्रमणबाट संक्रमित भएकाहरु कोही, अस्पतालमा उपचाररत हुनुहुन्छ भने, कोही घर, अस्पतालमा आइसोलेशनमा बसिरहनुभएको छ । यस्तो बेला आइसोलेशनमा  बसेको मान्छेमा बढी तनाव हुन सक्छ ।  अरु मान्छेलाइ पनि कतै मलाई कोरोना भइहाल्ला कि, के गर्नेहोला भन्ने त्रास त एउटा छँदैछ,  अर्को आइसोलेशनमा भएकाहरुलाई कतै एक्कासि केही भइ पो हाल्ने हो कि भन्ने तनाव हुन्छ ।

अहिले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कोरोना संक्रमणबाट धेरैको ज्यान गएको, अक्सिजन नपाएको जस्ता खबर व्यापक रुपमा आइरहेका छन् । यी कुरा सबैले हेरिरहेको हुन्छ । यस्तोबेला मलाई भइहाल्यो भने के गर्ने होला, कतै मलाई पनि यस्तै भयो भने, भन्ने खालका डर होम आइसोलेशन, वा अस्पतालमा आइसोलेशनमा बसेकाहरुलाई पनि हुन्छ ।

यस्तो अवस्थामा हामीले सकारात्मक विचारहरुले भरिदिन सक्छौँ । जस्तै कोरोना संक्रमण भएका एक सय जनामध्ये धेरैजसोलाई केही पनि नभइ निको हुन्छ भन्ने जस्ता सकारात्मक कुराहरु उहाँहरुको सामु गर्नुपर्छ । उहाँहरुलाई स्वस्थ खानपानको लागि सहयोग गरिदिने, हामी सहयोगको लागि तयार छौँ भनेर सहयोगी भावनाहरु व्यक्त गरिदिने, अहिले उहाँको मनमा के कस्ता विचारहरु छन् ती सुनिदिने गर्यो भने, उहाँहरुलाई पनि सान्त्वना दिन सजिलो हुन्छ । धेरैजसो आइसोलेशनमा बसेकाहरुलाई तपाईं ठीक हुनुहुन्छ, केही हुँदैन भन्ने खालका कुरा गरिदिनुपर्यो । यसका साथसाथै आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । कतै श्वास फेर्न गाह्रो हुन्छ कि, कतै गाह्रो अवस्था आउने लक्षण देखापर्छ कि भन्नेबारे पनि ध्यान दिनु पर्छ । 

सञ्चारमाध्यमको भूमिका

अहिले यो समयमा स्वास्थ्यकर्मी जस्तै मिडियाको पनि सबैभन्दा ठुलो भूमिका छ । हुन त सबै खालका खबर सबैले सुन्न पाउनुपर्छ । यो अधिकार पनि हो । तर यति भन्दाभन्दै पनि खबरको प्रस्तुतिलाई सामान्य मोडिफाइ गर्यो भने पनि त्यसले त्रास, भयावह स्थितिलाई मत्थर पार्नको लागि चाहिँ निकै नै मद्दत गर्दछ । जस्तै उदाहरणको लागि आज एक सय जनामा २० जना सिकिस्त बिरामी भएको खबर छ भने २० जना सिकिस्त भन्नुभन्दा सय जनामा ८० जना चाहिँ सामान्य लक्षण भएकाहरु निको भए भनेर एउटै कुरालाई फरक तरिकाले प्रस्तुत गरिदिदाँ यसको समूदायमा पर्ने जुन मनावैज्ञानिक असर छ, त्यसलाई अलिकति कम गर्न सकिन्छ । 

अहिले पनि हाम्रो समाजमा मनोसामाजिक अपांगता भएका धेरै हुनुहुन्छ । यस्तो अवस्थामा उहाँहरुलाई बिर्सने अवस्था छ । यो अत्यन्तै जोखिमपूर्ण अवस्था हो । जुन विश्वभरी भएका अध्ययनले पनि के देखाउँछ भने, जसलाई मानसिक स्वास्थ्य समस्या, मनोसामाजिक समस्या भएर उपचार गरिराख्नुभएको छ र समाजमा बसिराख्नुभएको छ, उहाँहरुलाई अरुभन्दा कोभिड हुने सम्भावना अझै बढी छ भन्ने छ । यसको साथसाथै मनोसामाजिक समस्या भएका मानसिक समस्या भएकाहरुलाई अरुभन्दा बढी शारीरिक समस्या पनि हुने भएकाले यो चाहिँ अत्यन्तै जोखिमपूर्ण वर्ग हो र यो बेलामा यहाँको परिवारमा, यहाँको समुदायमा पहिलादेखि मानसिक स्वास्थ समस्या भएका हुनुहुन्छ भने उहाँहरुलाई विशेष ध्यान दिनुपर्छ ।

जनस्वास्थ्यका मापदण्डहरु छन्, यसलाई पालना गर्न सिकाइदिनुपर्छ । हुनसक्छ उहाँहरुकोे अरुको जस्तो बौद्धिक अथवा बुझ्न सक्ने क्षमता कम हुन सक्छ । यस्तो अवस्थामा उहाँहरुलाई सामान्य भाषामा देखाएर, कसैलाई भनेर, पढेर सुनाइदिएर जनस्वास्थ्का मापदण्डका बारेमा सिकाइदिनुहोस् । यदि उहाँहरुलाई लकडाउनले गर्दा औषधी, सरसामान किन्न गाह्रो भएको छ भने सहयोग गर्नुहोस् । अथवा अहिले अस्पतालमा बहिरंग सेवा बन्द भइरहेका छ, उहाँहरु अस्पतालमा गएर सेवा लिरहन सक्नुभएको छैन होला ।

यस्तो अवस्थामा कतिपय हटलाइन नम्बर छ जुन मनोविद्, मनोचिकित्सकले चलाएर सेवा दिराख्नुभएको छ होला । उहाँहरुको नम्बर खोजेर फोनमार्फत मनोपरामर्शसेवा दिनुहोस । हामीले यस्तो वर्गलाई अरु सुरक्षित वर्ग जस्तै जोगाउन विभिन्न किसिमले सेवा गर्न सक्छौँ ।  

स्वास्थ्यकर्मीकोे भूमिका

यो समयमा स्वास्थ्यकर्मीकोे पनि ठूलो जिम्मेवारी त छँदैछ । यसैमा पनि कोभिडले गर्दा हुने मनोवैज्ञानिक त्रासलाई कम गर्न पनि स्वास्थ्यकर्मीको भूमिका ठूलो हुन्छ । हुन त स्वास्थ्यकर्मी आफैं अहिले दिनरात खटिरहनुभएको छ । यहाँहरु आफै तनावमा हुनुहुन्छ । यति हुँदाहुँदै पनि उहाँहरुले गरिरहनुभएको छ । त्यसैमा पनि नम्र व्यवहार गर्ने, बिरामीहरुलाई अलिकति समय दिने, उहाँहरुको भावना सुनिदिने र सान्त्वना दिने हो भने पनि धेरै हदसम्म डर त्रास कम गर्न सकिन्छ ।

यसको साथै अरु के पनि गर्न सकिन्छ भने, जसलाई डर त्रास अलिकति धेरै भएर मानसिक स्वास्थ्यमा समस्या भइरहेको छ भनेर पनि विचार गर्नुपर्छ । आइसोलेशनमा बसेकाहरुलाई मानसिक स्वास्थ्य समस्या छ कि भनेर प्रश्न गर्ने, त्यसको बारेमा सुनिदिने गर्नुपर्छ । यदि कसैलाई यो समस्या भएको थाहा पाएमा सामान्य परामर्श पनि स्वास्थ्यकर्मीले दिन सक्नुहुन्छ । यदि धेरै समस्या छ भने मनोविद् वा मनोचिकित्सक कहाँ रिफर पनि उहाँहरुले गर्न सक्नुहुन्छ ।  

अहिले हाम्रो देश पनि विषम परिस्थितिमा गुज्रिरहेको छ । यसको पनि अन्त्य हुन्छ । धेरैबेर रहँदैन । यस्तोबेला धैर्य गर्नुहोस्, एक अर्काप्रति सहयोगी भावना राख्नुहोस् । मायाको भावना राख्नुहोस् । दुःखमा परेकाहरुलाई सहयोग गर्नुहोस् । सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । नकारात्मक कुराहरुमा धेरै समय नबिताउनुहोस् । आफूलाई सुसूचित गर्दै जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुभयो भने धेरै हदसम्म कोभिड लाग्नबाट बचाउँछ भने यदि लागिहाल्यो भने पनि धेरै आत्तिनु हुँदैन । 

(विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ नेपालका मानसिक स्वास्थ्य विज्ञ डा. केदार मरहट्टासँग गरेकाे कुराकानीमा आधारित )

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया