अक्षय तृतीया र यसको महत्व

 बैशाख ३१, २०७८ शुक्रबार ७:६:४ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा भनिएको छ : 

यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु ।

तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।

अर्थात् आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ :

एष धर्मघटो दत्तो ब्रह्म विष्णुशिवात्मकः ।
अस्य प्रदानात्तृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । 
पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।

आजको दिन नै अक्षय तृतीया मनाउनु पर्ने आधारहरु निकै छन् । हिन्दू धर्मशास्त्रहरुमा त अक्षय तृतीयाको बारेमा निकै महत्वको वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ  कि आजको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।

चार प्रकारका युग हुन्छन् भनेर ग्रन्थहरुमा लेखिएको छ – सत्ययुग, त्रेता युग, द्वापर युग र कलि युग । यी चार युगहरुमध्ये सत्य युग र त्रेता युगको आरम्भ आजको दिनदेखि नै भएको हो भन्ने प्रमाण पाइन्छ । 

आजको दिनको अरु पनि निकै महिमाहरु रहेका छन् । हिन्दू धर्मग्रन्थहरुमा भगवान् विष्णुका विशेष रुपमा २४ वटा अवतारहरु भएका कुराहरु उल्लेख छन् । ती सबै भगवानका अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये भगवान् नारायणको परशुराम, नरनारायण तथा हयग्रीव अवतार आज नै भएको हो भन्ने प्रमाणहरु रहेका छन् । त्यसकारण आजको तृतीया भगवान् विष्णुको प्रिय तृतीया हो भन्ने बुझिन्छ । विष्णुले मात्र नभइ भगवान् शिवले पनि आजको दिनलाई निकै प्रिय मान्नुभएको छ । त्यसैकारण भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गर्नुभएको थियो । 

भारतमा बद्रीनारायण भगवान्को दर्शन तथा पूजा गर्नको लागि आजदेखि सबैलाई खुल्ला गरिन्छ । अर्थात् बद्रीनारायणमा आजदेखि नै ढोका खुल्छ । बृन्दावनमा बाँके बिहारीजीको दर्शन सधैं गर्न पाइने भए पनि उहाँको चरणको दर्शन भने आज मात्र गराइन्छ । यस्ता उदाहरणहरु धेरै पाइन्छन् । 

आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नु भनिएको छ । त्यसकारण आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने पनि मान्यता रहेको छ । तर यसवर्ष कोरोनाको कारण यसरी सर्बत बाँड्नु चाहिँ हुँदैन ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया