लुम्बिनी प्रदेशमा स्थायी राजधानीबाट काम गर्ने गरी तयारी तीव्र

 साउन ८, २०७८ शुक्रबार ९:४३:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्णय भएको एक वर्षभित्र सबै मन्त्रालयको काम स्थायी राजधानीबाट गर्ने गरी काम तीव्र  पारेको छ । देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई प्रयोग गरेर अहिले प्रदेश मन्त्रालयहरुकाे स्थानान्तरणको काम थालिएको छ । 

स्थायी राजधानी घोषणा भएको दश महिना पुग्न थालेको छ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयन दुई प्रक्रियाबाट गरिरहेको छ ।

अहिले मौज्दात पुरानो संरचनामा प्रदेश मन्त्रालय स्थानान्तरण गरेर काम थाल्ने र प्रदेश सभा सञ्चालनसँगै दीर्घकालीन पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माणकाे काम थालिएको छ। राजधानीको निर्णय टुङ्गिएको एक वर्षभित्र सबै मन्त्रालय स्थानान्तरणको तयारी प्रदेश सरकारले गरेको छ ।

स्थायी राजधानी दाङको देउखुरीमा झण्डै एक महिना पहिलेदेखि ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम सुरु गरिरहेको छ । साउन महिनाभित्र आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरेर काम सुरु गर्ने तयारी भएको राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ ।

राजधानी व्यवस्थापन कार्यालयले सहजीकरणको भूमिका निर्वाह गरेको र अब आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थायी राजधानी देउखुरीबाटै काम थाल्ने ज्ञवालीले बताउनुभयो । मन्त्रालयहरु अस्थायी संरचनामा नभएर स्थायी संरचनामा सार्न खोजिएको छ । जसको लागि राप्ती प्राविधिक शिक्षालयको संरचना प्रयोग गरिएको छ ।

शिक्षालयको संरचना र जग्गा प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनको विषयलाई प्रमुख प्राथमिकतामा राखेकाले अहिले मन्त्रालय स्थानान्तरणको लागि तातेका हुन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नाै ओटा मन्त्रालय छन् । यो वर्ष सबै स्थानान्तरणको योजनामा सरकार रहेको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो ।

हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी पाँच करोड बढीको लागतमा प्रदेश सभा भवन निर्माण तीव्र गतिमा भइरहेको छ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया