दाङमा बत्ती नपुगेका तीन गाउँ : घण्टाैँ लाइनमा बसेर माेबाइल चार्ज गर्नुपर्ने

 साउन १५, २०७८ शुक्रबार १०:५८:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको सदरमुकाम घोराही उपमहानगरपालिका-१९ का तीन वटा गाउँमा अहिलेसम्म बिजुली नपुग्दा मोबाइल चार्ज गर्न एक घण्टासम्म हिँडेर अर्को गाउँमा जानुपर्ने बाध्यता रहेको छ ।

घोराही उपमहानगरपालिका-१९ का श्रीचौर, भलारा र छाप गाउँमा बिजुली बत्ती पुगेको छैन । तीन वटा  गाउँमा करिब एक सय ५० घरधुरीको बसोबास रहेकाे छ ।

मोबाइल चार्ज गर्न नजिकको गाउँबाट आधा घण्टा र टाढाको गाउँबाट एक घण्टासम्म पैदल हिँडेर छोडनेटा बजारमा आउनुपर्ने बाध्यता रहेको श्रीचौरका स्थानीय नरबहादुर घर्तीले बताउनुभयो ।

'सबैका घरमा मोबाइल छन्, अरुले चलाउँदा आफूले पनि चलाउन पर्यो । त्यसैले मोबाइल चार्ज गर्न आएका छाैँ'—मोबाइल चार्ज गर्न आउनु भएका घर्तीले भन्नुभयो—'कहिलेकाँही त घण्टौँ लाइन बसेर बल्ल चार्ज गर्ने पालो आउँछ ।'

घोराही-होलेरी सहिद मार्ग अन्तर्गत पर्ने छोडनेटा बजारका ९ घरमा गएकाे वर्ष बिजुलीको लाइन जोडिएको हो । गाउँतिर लाइन जाने त सुरसार नै नभएको ताराबहादुर विकले बताउनुभयो ।

उपमहानगरपालिकाकाे बासिन्दा भए पनि गाउँमा बिजुलीको लाइन नपुग्दा टेलिभिजन चलाउने, बत्ती बाल्ने जस्ता कुरा सपना जस्तै भएको स्थानीयकाे गुनासाे छ । तीन गाउँका मानिसहरु आफैँ पालो मिलाएर  मोबाइल चार्ज गर्न आउने गरेको च्यानगैरा बजारकी बिमला घर्तीले बताउनुभयो ।

छोडनेटा बजारमा मोबाइल चार्ज गर्न आउनेको प्रायः मेला लागे जस्तै हुन्छ ।  

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया