म्याग्दीको पानी उड्ने झरना

 साउन ३२, २०७८ सोमबार १८:३०:५३ | रासस
unn.prixa.net

म्याग्दीकाे उडाइनाे झरना

म्याग्दी – पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर 'भी' आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना आजभाेलि धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडक खण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै झन्डै दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । झन्डै दुई सय मिटर उचाइ रहेको कोप्रे छहरा र दुई सय ५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको एक सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

यहाँ दैनिक झन्डै एक सयदेखि दुई सय जनासम्म युवायुवती पुग्ने गर्दछन् । यहाँ दुई वटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवायुवतीका लागि खुसीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित भएका युवायुवती आएर रमाइलो गर्दै दिन बिताउने गरेका बेनी नगरपालिका ३ का वडा सदस्य गेमबहादुर घर्तीमगरले बताउनुभयो ।

बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दूधे खोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । बेनपा ३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना झन्डै दुई सय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि झन्डै ४५ मिनेटको दुरी र बेनी बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।

म्याग्दीका बुद्धिजीवी एवम् इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । याे झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभइ पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केकोसमेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयवासीले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा बिदाका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लब्ली हिलपछिको दोस्रो बढी तस्बिर खिचिने ठाउँ भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताउनुभयो ।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचार–प्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उहाँको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया