टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा नमस्ते पे सञ्चालनमा

 भदौ ३०, २०७८ बुधबार ७:११:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ ।

लामो समयको तयारी पश्चात कम्पनीले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक बीच औपचारिक समझदारी भएको थियो । 

त्याे सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले आजदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

यसअघि टेलिकम र बैंकका कर्मचारीहरुबीच परीक्षण पश्चात औपचारिक रुपमा सेवा सुचारु गरिएको हो । सुरुआती चरणमा मोबाइल मनी सेवा एन्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ । 

सीईओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एन्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै सुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सकिने जानकारी दिनुभयो ।

कम्पनीले विस्तारै आईओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिनेछ । स्मार्ट फोनको अलावा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सकिनेछ । 

हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ । 

यसरी खोलिएको खाताबाट पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ । यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । 

यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैँकसहित करिब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ ।

बैंकहरू सँगै कम्पनीको देशव्यापी एजेन्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेन्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ । कम्पनीले नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा रहेको भन्दै मोबाइलमा ब्यालेन्सबाट नै पैसाको उपयोग गर्न नसकिने जनाएको छ । 

वालेटमा बैंक वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । सरकारी स्तरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्ता पुँजी बढी रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया