वाग्मतीका मुख्यमन्त्री पाण्डेले तिहारलगत्तै विश्वासकाे मत लिने

 कात्तिक १५, २०७८ सोमबार १८:१७:३६ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासकाे मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो । 

मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासकाे मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासकाे मत लिन लाग्नुभएको हो । विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ । 

मुख्यमन्त्रीले विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । तिहारलगत्तै सदनबाट विश्वासको मत लिनेबित्तिकै प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ वटा पुर्‍याउने तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुट्नुभएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनुभएको हो । 

माओवादी र कांग्रेसले चार/चार मन्त्रालय र एक/एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ सङ्केत गरिसक्नुभएको छ । उहाँले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्नुभएको हो । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले 'लबिङ' थालिसकेका छन् ।

तीन वटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया