तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा सम्पन्न

 मंसिर २४, २०७८ शुक्रबार १९:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा २०२१ सम्पन्न भएको छ । टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरूको अन्तर्राष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाण्डौमा तेस्रो संस्करणको लघु चलचित्र प्रतिस्पर्धा सम्पन्न गरेको हो । 

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको शर्ट फिल्म प्रतिस्पर्धामा महिला निर्देशकले निर्देशन गरेका १७ लघु चलचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिस्पर्धामा सरिता शाहको फिल्म 'फगुनिया' पहिलो, पुष्प जोशी र एन्जिला चौधरीको 'ललिता'ले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र 'समाइरा'ले तेस्रो स्थान हासिल गरेको छ । 

पहिलो स्थान हासिल गर्न सफल निर्देशक सरिता शाहको चलचित्र 'फगुनिया'ले नगद २५ हजार, दोस्रो स्थान हासिल गर्न सफल निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीकोे चलचित्र 'ललिता'ले नगद १५ हजार र तेस्रो स्थानमा निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको चलचित्र 'समाइरा'ले नगद १० हजार प्राप्त गरेको छ ।

ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइर्वाट नेपालले जलवायु परिवर्तन विधातर्फ ६ वटा लघु चलचित्रहरु प्रदर्शन गरिएको थियो । यो बिधामा निर्देशक सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र 'द माउन्टेन आर एंग्री' उत्कृष्ट हुँदै नगद रु २५ हजार प्राप्त गरेको छ ।

संसारभर बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न फिल्मको माध्यमबाट सचेतना फैलाउने उद्देष्यका साथ यो पटक ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा जलवायु परिवर्तन विषयमा बनेका फिल्म पनि सहभागी गराइएको हो ।

वरिष्ठ कलाकार मिथिला शर्मा, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक/लेखक सम्पदा मल्ल, नेपाल चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाईं र नेपाल टेलिभिजनको प्रमुख निर्माता तथा आइवार्ट नेपालकी सचिव नीता सापकोटालगायतका निर्णायक टोलीले कथा, निर्देशन र सन्देशका आधारमा चलचित्रलाई मूल्यांकन गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बन्दना राणाले महिलाको मुद्दा केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको भन्दै महिला हिंसा कम गर्नको लागि समाजको मानसिकतामा नै परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो। प्रमुख अतिथि बन्दना राणा महिला माथि हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यन्वयनका लागि बनेको सयुंक्त राष्ट्र संघको सीड कमिटीकी उपाध्यक्ष तथा आइवार्ट नेपालका संस्थापक हुनुहुन्छ / 

त्यस्तै आइवार्टको नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले आइवार्टको नेपाल च्याप्टरले गरी आएका गतिविधिको बारेमा जानकारी दिंदै महिला निर्देशकहरुको सीप विकास गर्दै महिला निर्देशकहरुको संख्या बढाउनको लागि लघु चलचित्र प्रतिष्पर्धाको आयोजना गरिएको जानकारी दिनुभयो ।

१४ देशमा इकाइ तथा ५४ देशमा सदस्यहरु फैलिएको आइर्वाटको नेपाल च्याप्टरले यसअघि सन् २०१८ र २०२० मा यस किसिमको प्रतिष्पर्धाको आयोजना गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया