‘हेर्ने दृष्टि फरक भएर के भयो त, युरोप होस् वा अरब कमाउने त पैसा हो’

 पुस ९, २०७८ शुक्रबार ११:४०:२७ | नारायण कोइराला

काम कुन देशमा गर्छस् भनेर कसैले सोधेमा म छाती फुलाएर भन्छु खाडीमा ।

किनकि म कुन देशमा छु भन्ने कुराले मलाई त्यति ठुलो फरक पार्दैन । खाडीको देशमा कामदार बनेर पसिना बगाउन थालेको धेरै भयो । मैले खाडीलाई पसिना बेचेँ, खाडीले मलाई पैसा दियो । अहिले पनि यो क्रम चलिरहेकै छ । समय, परिस्थिति र अवस्थाले कुन देशमा जाने भन्ने कुरा तय गर्दो रहेछ ।

मैले परदेशको यात्रा सुरु गर्दाको अवस्था र  अहिलेको अवस्थामा धेरै फरक छ । आजभन्दा झण्डै १५ वर्षअघि विदेश जानेहरूको अवस्था अलिक फरक थियो । 

त्यो बेलामा भिजिट भिसामा गएर काम खोज्नेहरू कमै थिए । मोटो रकम एजेन्टको हातमा थमाएपछि मात्र श्रमिक भिसामा विदेश आउन पाइन्थ्यो । 

खाडी मुलुकमा आउन पनि निकै कठिन थियो । त्यो बेला एउटा सामान्य परिवारमा जन्मिएको छोराले युरोप र अमेरिकाको सपना देख्न कहाँ सक्थ्यो र । 

त्यो अवस्थामा कोही  युरोप गयो भने ठुलो सम्मान र आउँदा ठुलो सान हुन्थ्यो  । फर्कँदा नाम पनि लिएर आउँथेँ । जर्मनबाट आउनेको जर्मने भनेर गाउँ ठाउँमा नाम चल्थ्यो ।
त्यो बेलादेखिको सान अहिले पनि छ समाजमा । तर खाडीबाट आउनेलाई गाउँ समाजमा डोरी लाहुरे भन्नेहरू पनि भेटिन्थेँ । 

मलाई भने समाजमा नाम भन्दा पनि काम चाहिएको थियो । लाखौँको बिटो साथमा थिएन । जति थियो, जुन आफ्नो औकात थियो त्यही अनुसार म अरबतिर हानिएँ ।

अरब आएपछि बल्ल थाहा भयो । यहाँको काम के हुँदो रहेछ भनेर । सुरु सुरुमा त काम गर्न नसकेर घर नै फर्किन मन लाग्यो । एजेन्टलाई दिएको पैसा र घरको अवस्थाले मलाई जस्तो सुकै काम गर्न पनि बाध्य बनायो । बिस्तारै  काम गर्न बानी बस्दै गयो । अरब तिर नै रमाउन र कमाउन थालेँ ।

समय बित्दै गयो । अरब छोडेर युरोप तिर जाने बिचार नआएको पनि होइन । पहिलाभन्दा अवस्था सहज पनि भएको थियो । साथीभाइ पनि युरोप जान भनिरहेका थिए । कुराकानीको क्रममा उनीहरूले युरोपमा भएकोमा आफूमा ठुलो गर्व गर्थेँ । तर मलाई कहिले पनि युरोपको मोहले छोएन । देश जुन भए पनि म खुसी छु । 

तर गाउँ बेसी, टोल सहरदेखि देशमा युरोप र खाडीको श्रमिकलाई हेर्ने फरक दृष्टिकोण छ । घर जाने क्रममा यस्ता घटनाले धेरैपल्ट छुने गरेको छ । युरोपबाट आउनेहरूलाई गर्ने व्यवहार र खाडीबाट जाने मजस्तालाई गर्ने व्यवहार नै फरक हुन्छ । 

गाउँ समाज त परको कुरा खाडीबाट जाने र युरोपेली देशबाट आउनेलाई विमानस्थलमा गरिने व्यवहार समेत फरक हुन्छ । घरी घरी त देशले नै हामीलाई अर्को नजरले हेर्छ कि जस्तो लाग्छ । 

तर म खुसी छु । युरोप जान नसकेको मलाई दुःख छैन । जे छ त्यसमा मानिसले रमाउन सक्नुपर्छ । खाडी भए पनि अमेरिका युरोप भए पनि आखिर कमाउने त पैसा न हो । जहाँ कमाए पनि नेपाल गएर  साट्दा रुपियाँ नै बन्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • युबराज राई

    Dec. 26, 2021, 12:04 a.m.

    हजुरको कुरा सहि छ । युएई मा कुन ठाउँमा हुनुहुन्छ?

  •  0 Reply
  • कुमार मगर

    Dec. 25, 2021, 10:40 a.m.

    म पनि सउदीमा छु । हामी खाडीमा बस्नेलाई एयर्पोर्टमा मात्रै हैन, परिवार आफन्तहरुले नै युरोपमा बस्ने भन्दा फरक ब्यावहार गर्छन तर उनीहरुलाई यो कुरा थाहा छैन कि, खाडीमा काम गर्नेले कमाइको सतप्रतिशत नेपालमा रेमिट्यान्स गर्छन र युरोप पस्नेले कमाइको ७५ प्रतिशत उतै खर्च गर्छन भन्ने । कोहि कोहि बाहेक युरोप जानेहरु त उतै घरब्यवहार गरेर बस्छन अनि उनीहरुबाट देशले के फाइदा पाए भन्ने कुरा सोच्दैनन खाडी र युरोप भन र छुट्याउनेहरुले ....!!

  •  0 Reply

तपाईको प्रतिक्रिया