फेरि अस्तित्वमा आउँदैछ ‘पुतलीको घर’

 पुस २९, २०७८ बिहिबार ८:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०५९ सालमा बानेश्वर थापागाउँको कुञ्ज नाटकघरबाट अस्तित्वमा आएको आरोहण गुरुकुलले उदय अस्तसँगै फेरि उही ठाउँबाट ‘पुतलीको घर’मार्फत आफ्नो अस्तित्व दोहोर्याउन लागेको छ, पुस ३० गतेदेखि । 

हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’ को नेपाली संस्करण  ‘पुतलीको घर’ पुस ३० गतेदेखि माघ २२ सम्म मञ्चन गरेर गुरुकुलले आफूलाई फेरि रङ्गमञ्चको दुनियाँमा उभ्याउन लागेको हो ।  

‘अ डल्स हाउस’ को नेपाली अनुवाद तथा निर्देशन रङ्गकर्मी सुनील पोखरेलले गर्नुभएको हो । पोखरेल अनुदित यो नाटक गुरुकुलले  देश तथा विदेश गरी २ सय १६ पटक मञ्चन गरिसकेको छ । सञ्चालन भएको ९ वर्षपछि स्थायी थिएटर बनाउने जग्गा अभावमा गुरुकुल बन्द भएको थियो ।

अहिले काठमाण्डौ महानगरपालिकाले एक वर्षको भाडा तिरिदिने भएपछि गुरुकुल पुनः सञ्चालन हुन लागेको हो । महानगरले भाडा तिरिदिए पनि बाँकी २० प्रतिशत खर्च भने गुरुकुल आफैँले गर्नुपर्ने छ । गुरुकुल सुरु हुँदा पनि काठमाण्डौ महानगरले एक वर्षको भाडा तिरिदिएको थियो । 

‘पुतलीको घर’ नाटकमा निशा शर्मा, कमलमणी नेपाल, शेखर चापागाईं, अञ्जु देउजा लगायतको अभिनय रहेको छ । सुरुको केही दिन भने नेपालको साटो पोखरेलले अभिनय गर्नुहुनेछ ।

औपचारिक पुनरागमनका दिन गुरुकुलमा चित्र तथा कविताको प्रस्तुती पनि हुनेछ । पोखरेलका चर्चित नाटकहरु ‘ताराबाजी लै लै,’ ‘जात सोध्नु जोगीको,’ ‘अग्निको कथा’ लगायतका नाटक गराउने तयारी छ गुरुकुलको । 

सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, कमलमणि नेपालजस्ता चर्चित रङ्गकर्मी जन्माएको गुरुकुल पुनः सञ्चालन हुने कुराले रङ्गकर्मी उत्साहित देखिएका छन् । गुरुकुल बन्द भएपछि सात, आठ वटा अरु नाटक घर खुलेका थिए । 

गुरुकुल सुरु गरेसँगै पोखरेलको नाट्य कलेज खोल्ने अर्को सपना छ । एकदेखि दुई वर्षभित्र स्नातक तहसम्म पढाइ हुने नाट्य कलेज सञ्चालनको तयारीमा हुनुहुन्छ उहाँ । कलेजका लागि पाठ्यक्रम बनाउने काम चलिरहेको छ । 

नाट्यकर्मी सुनील पोखरेल र निशा शर्माका दिनहरू हिजोआज थापागाउँमा रहेकाे कुञ्ज नाटकघरमा बितिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया