हेटौंडामा ३५ करोडको लागतमा सुविधा सम्पन्न बस टर्मिनल बन्दै

 फागुन २६, २०७८ बिहिबार १०:५२:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडाको मुख्य बजार क्षेत्रबाट अलि भित्र जाँदा निकै ठूलो भवन निर्माण भइरहेको जस्तो देखिन्छ । चारैतिरबाट जस्ताको टिनले घेरिएको यस क्षेत्रमा गेटभित्र गएपछि श्रमिकहरु काममा व्यस्त रहेका देखिन्छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण हुन थालेको एक वर्ष भयो । ३५ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले बस टर्मिनल बनाउन लागेको हो । यसमा ५० प्रतिशत काम सकिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ । 

उहाँका अनुसार डेढ वर्ष समय अवधि दिएर बस टर्मिनलको काम थालिएको हो । योजना अनुसार चार तलाको भवन हुनेछ भने मुनिका दुई तलामा पार्किङ र माथिल्ला दुई तलामा व्यापारिक कम्प्लेक्स रहनेछ । रसुवा, आसिस, बानियाँ जेभीले ठेक्का मार्फत काम गरिरहेको छ । यो बस टर्मिनल बनेपछि यात्रु तथा बस व्यवसायी सबैलाई सुविधा हुने बताइएको छ ।

‘अहिलेको बसपार्क पुरानो र कम क्षमताको भएकाले अर्को बसपार्क निर्माण गर्न सुरु गरेका हौं’, मेयर महतले भन्नुभयो, ‘अहिले भइरहेकोबाट पनि छोटो दुरीका सवारीका साधनलाई पार्कको रुपमा प्रयोग गछौं र नयाँ बन्दै गरेको बसपार्कमा भने लामो दुरीका सवारीका साधनलाई ओहोरदोहोर गर्ने, यात्रुलाई आराम गर्ने सबै व्यवस्थाका साथ निर्माण गरिरहेका हौं ।’ 

उपमहानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ । अहिले टिसिएनमा भइरहेको तरकारी बजार क्षेत्रमा बसपार्कका रुपमा बगैँचा सहित निर्माण हुनेछ । उपमहानगरपालिकाले यो भवन निर्माण भएपछि आम्दानीको आन्तरिक श्रोत पनि वृद्धि हुने र सुविधा सम्पन्न बसपार्क पनि निर्माण हुने मेयर महत बताउनुहुन्छ । यस्तै स्थानीय सरकारले विकास निर्माणका काम गर्नका लागि अरुको मुख ताक्ने अवस्था पनि नहुँने मेयर महतको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया