विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्कँदा कोही न कोही

 चैत १०, २०७८ बिहिबार १०:३३:७ | नारायण कोइराला
unn.prixa.net

समय र परिस्थिति अनुसार परदेशमा कमाउनु जानु पर्ने अवस्थाको सृजना हुन्छ । अझ हाम्रो जस्तो देशको लागि त बाध्यता नै भएको छ  ।

शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन । गरिबी छ । रोजगारी छैन । बेरोजगार भएर कहिलेसम्म बस्ने ? त्यो भन्दा बरु खाडीकै बाटो तताउन बाध्य छन् युवाहरू । देशको आधा अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । परदेशमा कमाएर घर परिवार र देशकै अर्थतन्त्र धान्न परदेशीले सानो सङ्घर्ष गरेका छैनन् । 

परदेशतिर हानिएकाको अवस्था आफ्नो ठाउँमा हुन्छ । स्वदेशमा रहनेहरूले पनि परदेशीबाट अनेक इच्छा र आकाङ्क्षा राखेका हुन्छन् । आफन्तले परदेशीबाट आस राख्नुलाई नराम्रो पनि हैन । हर सम्भव आफ्नाले चाहेको र मागेको कुरा पूरा गर्न चाहन्छन् परदेशी पनि । तर चाहेर पनि सबैका इच्छा पूरा गर्न सम्भव हुँदैन । 

देश छाडेर परदेश पुग्दा पनि आफ्नो र आफ्नाको चाहना पूरा गर्न नसक्दा मन दुःखी हुन्छ । तर मनको पीडा कसलाई सुनाउने, कसलाई भन्ने । परदेशीले आफ्नो मनको पीडा सहजै बताउन पनि सक्दैनन् । 

एकतिर कामको चाप अर्कोतिर  घर परिवारको चिन्ता  । सबै कुराको सन्तुलन मिलाउन कठिन हुन्छ र पनि परदेशीहरू आफूलाई सम्हालिइरहेका हुन्छन् । कमाउन भनेर देशै छाडेर परदेश पुगेपछि सम्हालिनुको अर्को विकल्प पनि हुँदैन । 

परदेशीहरूको पर्खाइमा घर आँगनमा आमाबुबा,जीवन सङ्गिनी छोराछोरीहरू हुन्छन् । सबैको माया मनमा राखेर, चिन्तालाई सन्तुष्टिमा बदल्दै बाँच्नु नै परदेशीको जीवन हो ।

परदेशको अवस्था कस्तो छ, त्यहाँको दुःख के हो, सुख के हो भन्ने त परदेश गएकालाई पो थाहा हुन्छ । 

परदेशमा राम्रो र नराम्रो दुवै पक्ष छन् । कतिपयको अवस्था एकदमै राम्रो पनि छ । कतिको सामान्य छ त कतिपय एकदमै कष्टकर जीवन बिताउन बाध्य छन् ।

काम र कमाइ राम्रो हुनेलाई परदेशमा त्यति गाह्रो छैन । तर सामान्य र तल्लो तहमा काम गर्नेहरूले सोच्दै नसोचेको र कल्पनै नगरेको दुःखहरू सहन पर्छ ।

पैसा कमाउन पर्ने दबाब हुन्छ । पाएको बिदा पनि काममा नै खर्चन्छन् । तर पनि सोचेजस्तो हुँदैन।  

धेरैजसो  परदेशी यही पीडामा बाँचिरहेका हुन्छन् । आफ्नो परदेशी जीवन कालमा साथीभाइ, इष्टमित्रदेखि सबैलाई खुसी बनाउने कसरत गरिरहन्छन् । आफ्नो खुसी मारेर घर परिवारको खुसीका लागि डटिरहेका हुन्छन् । 

जब परदेशमा केही वर्ष बिताएर परदेशी आफ्नो देश फर्कन्छ उसले सबैबाट केही न केही अपेक्षा त गरेकै हुन्छ । 

तर के यो अवस्थामा आफन्त, इष्टमित्र र देशको सरकार परदेशीलाई सहयोग गर्न तयार छ त ? पक्कै पनि छैन । परदेशमा कमाउँदा र जागिर छाडेर घर फर्कँदा गरिने व्यवहारमा आकाश जमिनको फरक छ ।

कुनै पनि श्रमिक परदेशमा टर्मिनेसन भयो अथवा राजीनामा दिएर घर आउने भन्ने बित्तिकै घर तिरको माहौल नै परिवर्तन हुन्छ । कतिपयले त  अर्ती उपदेश दिन नै सुरु गर्छन् ।

श्रमिकलाई  गर्दै आएको नोकरी छुट्दा अथवा छोड्दा आफ्नै समस्या पनि त हुन सक्छ । परदेशमा सधैँ आफैले सोचेँ जस्तो पनि त हुँदैन । यो अवस्थामा श्रमिकको हौसला बढाउने कि अरू आशा राखेर मनलाई दुःखी बनाउने ? जसरी श्रमिक मुलुक छोडेर जाँदा पैसा कमाउन गयो भनेर खुसीयाली मनाइन्छ त्यसरी नै फर्कँदा हेर्ने दृष्टिकोण पनि त राम्रो हुन आवश्यक छ । 

परदेशमा बस्दा थुप्रै स्वदेशका समस्या समाधान गर्यो होला परदेशीले । अब स्वदेशमा फर्किन चाहेको परदेशीबाट अरू आशा राखेर कहिलेसम्म सताउने ? उपदेश होइन, सबैको साथ र हौसला पायो भने परदेशमा सिकेको सीप सदुपयोग गरी आफू र देशको लागि केही गर्न सक्थ्यो होला  । तर यहाँ उल्टो छ ।  विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्केपछि कोही न कोही भने झैँ हुन्छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • समीर

    March 25, 2022, 1:23 a.m.

    बहुत मनाशिव लाग्यो लेख, जहाँ यथार्थता बढि छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया