किन पाउँदिनन् ऐश्वर्या राय बच्चनले काम ?

 असोज १, २०७५ सोमबार १९:३६:५५ | जुनू भण्डारी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा करिना कपूर खान, विद्या बालन, रानी मुखर्जी र काजोललगायतका अभिनेत्रीहरु अहिले पनि आफ्नो अभिनय तथा नयाँ फिल्मका मध्यमबाट दर्शकहरुको मन जित्न सफल भइरहेका छन् ।

तर अभिनेत्री ऐश्वर्या राय बच्चन भने यस दौडमा अझै सफल हुन सकिरहेकी छैनन् । सन् २०१५ देखि बलिउड कमब्याक गरेकी ऐश्वर्याले दर्शकको मन जित्न सकेकी छैनन् ।  उनका लागि यो भन्दा पनि नराम्रो खबर यो छ कि अहिले निर्माता तथा निर्देशकहरुले समेत ऐश्वर्याका साथ फिल्म निर्माण गर्ने योजना नै बन्द गरिरहेका छन् ।

खबरहरुका अनुसार पछिल्लो समयमा ऐश्वर्या राय बच्चनको हातबाट एक पछि अर्को गर्दै फिल्महरु फुत्किरहेका छन । यस्तो हुनुको पछाडिको कारण स्वयम ऐश्वर्या नै हुन् । बलिउडमा अहिले कलाकारहरु फिल्मको कथावस्तुभन्दा पनि आफ्नो भूमिकालाई बढी जोड दिइरहेका छन् ।

कथावस्तु जस्तो सुकै होस उनीहरुलाई त्यस कुरामा खासै चासो हुँदैन । ऐश्वर्या पनि यही कुराको पछाडि हिँडिरहेकी छिन । ऐश्वर्यालाई प्रस्ताव गरिएका फिल्मको स्क्रिप्टमा उनले आफ्नो भूमिका आफ्नै हिसाबमा लेखाउने प्रयास गरेकै कारण अहिले ऐश्वर्याले फिल्महरुबाट बञ्चित हुनु परिरहेको छ ।

केही दिनअघि निर्माता शैलेश आर. सिंहको फिल्ममा ऐश्वर्या राय बच्चनलाई अभिनेत्री ताप्सी पन्नुले रिप्लेस गरेको खबर सार्वजनिक भएको थियो । त्यस पछिका २ वटा फिल्ममा पनि ऐश्वर्याको ठाउँमा अन्य अभिनेत्रीहरुलाई राखिएको खबर थियो । फिल्म ‘वो कौन थी’ को रिमेकमा ऐश्वर्याको सट्टा अभिनेत्री बिपासा बसुलाई लिइने खबर छ  । निर्माता श्री नारायण सिंहको फिल्म ‘ज्यास्मिन’ मा ऐश्वर्यालाई हटाएर अर्की अभिनेत्रीका साथ कुरा चलिरहेको छ ।

खबरहरुका अनुसार ऐश्वर्यालाई प्रस्ताव गरिएका यि सबै फिल्मको स्क्रिप्ट उनी आफ्नै हिसाबले परिवर्तन गराइरहेकी थिइन् । जुन कुरा लेखक र निर्देशकलाई चित्त बुझेको थिएन । १/२ पटक स्क्रिप्ट परिवर्तन गरेर ऐश्वर्यालाई दिइयो तर पनि ऐश्वर्यालाई चित्त बुझाउन सकेनन् । त्यसपछि फिल्म निर्माण पक्षले ऐश्वर्या भन्दा पनि अरु अभिनेत्रीका साथमा काम गर्ने निधो गरे । ऐश्वर्यालाई  यति बेला राम्रो फिल्मको आवश्यकता छ तर उनले आफ्नै बानीका कारण फिल्महरु गुमाइरहेकी छिन् ।

पछिल्लो १० वर्ष यता फिल्म ‘ऐ दि हे मुश्किल’ बाहेक ऐश्वर्याका कुनै पनि फिल्म सफल भएका छैनन् । फिल्म ‘ऐ दि हे मुश्किल’ मा पनि उनी सहायक अभिनेत्रीको भूमिकामा थिइन् । सन् २०१० देखि २०१५ सम्म उनी फिल्म देखि टाढा थिइन । उनले सन् २०१५ मा फिल्म ‘जज्बा’ र सन् २०१६ मा ‘सर्वजित’ बाट मुख्य भूमिकाबाट कमब्याक गर्दै बलिउडमा पुनः स्थापित हुने सोचमा रहेकी ऐश्वर्याको सपना पूरा हुन सकेन ।

हालै प्रदर्शन भएको फिल्म ‘फन्ने खान’ ले त झनै ऐश्वर्यालाई ठूलै झट्का लाग्यो । यस फिल्ममा मुख्य अभिनेत्री नभए पनि उनी महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । फिल्म निर्माताले ऐश्वर्यालाई निकै ग्ल्यामरस रुपमा प्रस्तुत गरेका थिए । तर पनि उनले दर्शकलाई आकर्शित गर्न सकिनन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया