नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियाे, देशभर फैलन ३ देखि ४ दिन लाग्ने

 जेठ २२, २०७९ आइतबार १५:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

 काठमाण्डाै – नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो ।  तर यसपटक भने पोहोरभन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।  

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन तीनदेखि चार दिन लाग्ने श्रेष्ठले बताउनुभयो । 

गएको वर्ष मनसुन भित्रनेबित्तिक्कै सक्रिय भएर देशभर लगातार वर्षा हुँदा आएको बाढी र पहिरोमा परी देशमा ठूलो जनधनको नोक्सानी भएको थियो । यो वर्ष पनि सरदरभन्दा धेरै पानी पर्न सक्ने मौसम पूर्वानुमान भइसकेको छ । मनसुन प्रवेश गरेसँगै सक्रिय हुने सम्भावना पनि धेरै रहेकाले सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभएको छ । 

मनसुन बाहिरिने समय भनेको अक्टोबर २ तारिख हो । नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्दछ । यस अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन नेपाल प्रवेश गर्न अझै दुई/चार दिन लाग्ने जनाएको थियो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया