गुड्ने मिनी अस्पताल !

 साउन ८, २०७९ आइतबार ६:४८:३० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम, सुविधा अभावले बिरामीको बीच बाटोमै ज्यान जान सक्ने अवस्थाको सामना गरिरहनुपरेको छ ।  

तर अस्पतालमा मात्र प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामरा ।

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित देशमा प्रयोगमा भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता गाडीलाई नेपालमा पनि भित्र्याएकाे छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्नेसहितकाे सेवा प्राप्त हुने यस्ताे गाडी नेपालमा पहिलोपटक भित्रिएको हो ।

अबका विपत्तिमा ती गाडीले सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर त्यस गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताउनुभयो । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।

मुख्यतः फण्डमा अमेरिकी सहयोग नियोग (यूएसएड), बेलायती सहयोग नियोग (एमसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको लगानी रहेकाे छ । 

गृहमन्त्री बालकृष्ण खाणले हिजाे सशस्त्र प्रहरी  महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गर्नुभयो  । ती गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहने जनाइएको छ ।  विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा त्यही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

यस गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् । 

जीवन बचाउने आधुनिक उपकरण, महत्त्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटिभी क्यामरा छन् । याे गाडी एउटाको झन्डै एक करोड रुपैयाँ पर्ने बताइएको छ । 

गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान गर्नै विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया