ट्रक किनेकाे पैसा दिने भन्दै बाेलाएर साथीकाे हत्या

 साउन १६, २०७९ सोमबार १६:४२:४३ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतीकात्मक तस्बिर

अर्घाखाँची – आफूले बेचेको ट्रकको पैसा लिन भनी अर्घाखाँचीको पोखराथोकमा आएका विष्णुबहादुर पाण्डेको हत्या भएको छ । गाडी किनेको पैसा दिने बहानामा अर्घाखाँचीको पोखराथोकमा लगी अर्घाखाँची घर भइ रुपन्देहीको बुटवलमा गाडीको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक) ले आफ्नै साथी पाण्डेको हत्या गरेका हुन् ।  

अर्घाखाँचीको मालारानी गाउँपालिका २ घर भइ रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको शव शनिवार पोखराथोकमा भेटिएको थियो । शवको बारेमा अनुसन्धान गर्दै जाँदा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताउनुभयो ।  

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको शव पाणिनी गाउँपालिका २ मा पर्ने डाँडाकटेरीको वनमा भेटिएको थियो । हत्याको अभियोगमा पाणिनि–२ पोखराथोक घर भइ सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ वर्षीय कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले आफ्नै साथीको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

गौतमलाई बिक्री गरेको लु १ ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडेका पाण्डे सम्पर्कमा नआएपछि उनकी छोरीले प्रहरीमा उजुरी गरेकी थिइन् । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले खोजी गर्दा पाण्डेको शव जङ्गलमा भेटेको थियो । 

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ट्रक १६ लाख रुपैयाँ कायम गरी पछि दिने सर्तमा नामसारी गरेकोमा ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका थिए । घटनापछि फरार रहेका गौतमलाई नेपाल–भारत सिमाना बेलहियाबाट प्रहरीले पक्राउ गरेको थियो । 

गौतमले योजनाबद्ध रूपमा साउन ९ गते पाण्डेलाई अर्घाखाँचीमा रहेकाे घरमा गएर पैसा दिने भन्दै ललाइफकाइ गरेर पोखराथोक लगेका थिए । भोलिपल्ट घरबाट कालिज मार्न भनी झन्डै साढे दुई किलोमिटर टाढाको जङ्गलमा लगी पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी त्यही ठाउँमा रहेको भिरबाट तल खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेकाे डीएसपी थापाले बताउनुभयो । मृतक पाण्डेको पर्स पनि गौतमको घरको कोठामा भेटिएको छ ।  

शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएकाे छ । अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले त्याे गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षा, स्वास्थ्योपचारको व्यवस्था गराइ क्षतिपूर्तिसमेत दिलाउन परिवारले माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया