मन्त्री यादव र राईद्वारा संयुक्त रुपमा तिलावे नदीको मोटर पुल उद्घाटन

 साउन २८, २०७९ शनिबार १७:८:३० | विमल बिष्ट
unn.prixa.net

वन तथा वातावरणमन्त्री प्रदीव यादव तथा भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईले आज शनिवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १७ र १९ जोड्ने १०३ दशमलव ८० मिटर लम्बाई रहेको तिलावे नदीको मोटर चल्ने पुल संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकका रुपमा रहेको यस तिलावे नदीमा  ७ करोड ७१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणको ठेक्का सम्झौता भएको सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पुल ठेकेदार पप्पु–लुम्बिनी जेभीले निर्माण गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले अनुमति नदिएर रोकिएका विकासका कामहरुको तत्काल सुरुवात हुने बताउनु भएको छ । मन्त्री यादवले नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अनुमति दिइने बताउनुभयो । यस्तै उहाँले नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा हुने विकासका कामहरु अनावश्यक कागजात तथा फाइलका कारण नरोक्न पनि मातहतका निकाय तथा विभागलाई निर्देशन दिएकाले जनताका काम नरोकिने दावी गर्नुभयो ।

याे पुल निर्माण भएसँगै पर्सा जिल्लाका ग्रामीण भेगका ८५ देखि ९० प्रतिशत जनतालाई सदरमुकाम वीरगञ्ज आउजाउमा सहज हुने भएकाले ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी, खाद्यान्न लगायतका वस्तुले बजार पाउने  पनि बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा बोल्नु हुदै भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी–चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन पनि दिनुभयो । यसैगरी मन्त्री राईले हुलाकी सडकको बाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउनुभयो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा आयोजना गरिएको पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज माहनगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया