सुदूरपश्चिमको स्याउली थाप्ने चलन लोप हुँदै

 साउन २९, २०७९ आइतबार ११:५:६ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रुपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ।

कुनै व्यक्ति साइत वा शुभकार्यमा घर बाहिर कामका लागि जानुभन्दा पहिले केटाकेटी तथा महिलाहरुले घरभन्दा टाढा बीच बाटोमा गम्छा, रुमाल वा कपडाको टालोमाथि हरियो घाँस, फूलहरु, हरियो स्याउलाहरु राखेर साइत शुभहोस् भन्ने चलनलाई यहाँको भाषामा स्याउली भन्ने गरिन्छ ।

साइतमा रहेका व्यक्तिहरुलाई काम, यात्रा अनि उसले सोचेको कार्य सफल होस् भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका पूर्व सह–प्राध्यापक डा.बद्रीशर्मा बिनाडी बताउनुहुन्छ। उहाँले भन्नुभयो, 'बीच बाटोमा थापेको स्याउलीमा यात्रा वा साइतमा निस्केका व्यक्तिहरुले केही खानेकुरा, मिठाई वा आफ्नो दक्ष अनुसारको पैसा राख्दा साइत शुभ हुने विश्वास रहेको छ, अहिले याे चलन हराउँदै जान थालेको छ ।'

डोटीसहित समग्र सुदूरपश्चिममा प्राय विदेशको यात्रा, विवाह, तीर्थ यात्रा, शुभ कार्यमा जानेहरुको साइत सफल होस् भन्ने हेतुले हरिया स्याउलाहरु राखेर शुभ यात्रा गर्ने चलन रहेको छ । पछिल्लो समयमा लोप हुन लागेका यस्ता मौलिक कला, संस्कृतिको संरक्षण, प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने स्थानीयकाे भनाइ छ । 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा वैशाख १ गते सिस्नु खेलेर मनाइने बिसु पर्व, साइतमा जानेहरुका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर मनाइने राइतो, बटुक पकाएर हरेला खानेलगायत संस्कृतिहरु बिस्तारै लोप हुन थालेका छन् । 

स्थानीयस्तरमा रहेका कला, मौलिक संस्कृति, जातजाति, धर्म, लिङ्ग, वर्ण, धार्मिक एवम् पर्यटकीय स्थल, सामाजिक परिवेश झल्किने खालका विषयवस्तु स्थानीय पाठ्यक्रममा समेट्न आवश्यक भएकाे स्थानीयकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया