रुख काट्न अनुमति दिँदा मन्त्रीले वन विनाश गर्‍याे भन्छन्, नदिँदा विकास राेक्याे भन्छन् : यादव

 भदौ ५, २०७९ आइतबार २०:५:११ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफू मन्त्रीको हैसियतमा रहँदासम्म विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताउनुभएको छ । आज आइतवार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू विकासको बाधक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्नेछु ।’ यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको भन्दै भन्नुभयो, ‘रुख काट्ने अनुमति दिउँ मन्त्रीले वन विनाश गर्‍याे, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउँ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् । हामी गाली सहेर भए पनि विकासको क्षेत्रमा नमुना काम गर्नेछौँ ।’

कार्यक्रममा बोल्नु उहाँले आम नागरिक, नागरिक समाज, विज्ञ र पत्रकारहरूको राय, सुझावका आधारमा काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निःस्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । 

यसैगरी मन्त्री यादवले हिजोका दिनमा कुन मन्त्रीले के गरे भनेर आफूले त्यसको वास्ता नगर्ने तर आफू के गर्दैछु, आफूले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएर मात्रै काम गर्ने र गर्दै आएको जिकिर गर्नुभयो ।

मन्त्री यादवले मन्त्रालयभित्र मन्त्रीले गरेका कामका फाइल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरू भइरहेका र त्यो विषयमा आफूले हेर्दै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘गलत कामप्रति म सचेत छु, मेरो हातबाट गलत काम हुँदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जोसुकै होस् त्यसलाई त्यो ठाउँमा राख्दिनँ ।’ 

वन तथा वातावरणका क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको भए पनि आर्थिक अभावका कारण ती काम गर्न नसकिएको मन्त्री यादवले गुनासो गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया