सङ्खुवासभाको मानेभञ्जाङमा लुटपाट गर्न खोज्ने ३ जना पक्राउ

 भदौ १४, २०७९ मंगलबार १९:५१:५२ | नवीन गुरुङ
unn.prixa.net

मङ्गलवार मानेभञ्जाङमा भेला भएका स्थानीयवासी । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ मानेभञ्जाङ बजारमा लुटपाट गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । गए राति २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) व्यक्तिको घरमा लुटपाट प्रयास गर्ने तीन जना पक्राउ परेका हुन् ।

लुटेरासँग प्रतिकार गर्दा वीरेन्द्रभगत श्रेष्ठकी श्रीमती निता, छोरा सन्दीप र छोरी तारादेवी श्रेष्ठ घाइते भएका र उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो । 

श्रेष्ठको पसलमा गए राति २ बजेतिर तीन जनाको समूह घरबाहिरको गेट खोलेर भित्र छिरेका थिए । सन्दीपले घरभित्र मानिस छिरेको थाहा पाएपछि उठेर हेर्न जाँदा उनलाई रडले हानेर घाइते बनाएका छिमेकी सूर्यनारायण श्रेष्ठले बताउनुभयो । त्यसपछि लुटेराहरूले सन्दीपका आमा र दिदीलाई पनि रडले हानेर घाइते बनाएका थिए । जसोतसो सन्दीप घरबाहिर निस्केर हारगुहार मागेपछि छिमेकी भेला भएकाले लुटेराहरू भागेका थिए । बाक्लो बजार क्षेत्र भएको र नजिकै मानेभञ्जाङ प्रहरी चौकीसमेत भएकाले मानिसहरू होहल्ला गर्दै भेला भएका थिए । 

घरकाे गेट छेउमा मोबाइल भेटिएको र त्याे मोबाइलका आधारमा स्थानीयवासीले बजारबाट नै दुई जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । उनीहरूको बयानको आधारमा अर्का थप एक जना गरी तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाले अहिले नै उनीहरूकाे नाम सार्वजनिक नगर्ने डीएसपी गोदारले बताउनुभयाे ।

उनीहरू अनुहार छोपेर रड, खुकुरी र अन्य हतियारसहित पसल लुट्ने उद्देश्यका साथ घरमा छिरेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया