दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकको भजनकीर्तन र भलाकुसारी

 भदौ १८, २०७९ शनिबार ९:१७:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सेताम्य कपाल । ढल्किंदो उमेर । बढ्यौली यो उमेरमा आफू सरहका साथीभाइसँग भजनकीर्तनमा रम्न पाउँदा लमजुङ राइनास–६, धमिलिकुवाकी नानीमाया श्रेष्ठ दंग हुनुहुन्छ ।

‘बुढ्यौली उमेर । काम गर्न सकिदैँन । दिवा सेवा केन्द्रमा आफू सरहका साथीभाइसँग यसरी नै भजन कीर्तनमा रमाउन पाउँदा सारै खुशी लाग्छ । स्वर्गकै अनुभूति हुन्छ’ ज्येष्ठ नागरिक श्रेष्ठले भन्नुभयो । ज्येष्ठ नागरिकका लागि लमजुङको राइनासमा दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइएसँगै अरु ज्येष्ठ नागरिकको दैनिकी अहिले थप सहज र सुखमय भएको छ । ज्येष्ठ नागरिकको दिन सजिलै बित्ने गरेको छ । 

सडक आडैमा छ, लमजुङको राइनास नगरपालिका–६, धमिलकुवामा रहेको ज्येष्ठ नागरिक समाजको भवन । यस भवनमा स्थानीय ज्येष्ठ नागरिकहरु जम्मा हुन्छन् । आपसमा दुःख–सुख साटासाट गर्छन् । भजनकीर्तनमा रमाउँछन् । 

गण्डकी प्रदेश सरकारको पाँच लाख र राइनास नगरपालिकाको २ लाख रुपैयाँ गरी ७ लाख रुपैयाँको लागतमा साविक गाविसको भवनलाई मर्मत सम्भार गरी धमिलिकुवामा ज्येष्ठ नागरिकका लागि भवन प्रयोगमा ल्याइएको धमिलिकुवा  ज्येष्ठ नागरिक समाजका अध्यक्ष गोविन्दराज कडारियाले बताउनुभयो । भवनमा यसै वर्षदेखि  व्यवस्थित रुपमा दिवा सेवा केन्द्र सञ्चालन ल्याइएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै स्थानीय ज्येष्ठ नागरिकहरुलाई रमाउँदै, दुःख कष्ट भुल्दै सुखयम रुपमा दैनिकी व्यतीत गर्न निकै सहज भएको उहाँले बताउनुभयो ।

‘चोक गल्ली चिया पसलमा नभई दिवा सेवा केन्द्रमा आफु सरहका साथीभाइसँग भलाकुसारी गर्दै दुःख साट्दै भजन कीर्तनमा रमाउन पाउँदा हामीहरुलाई सहज भएको छ,’ उहाँले भन्नुभयो । 

ज्येष्ठ नागरिकहरुको सहजताका लागि दिवा सेवा केन्द्रमा भजन कीर्तनका लागि वाद्यवादन, टेलिभिजन, चिसोतातो पानीको व्यवस्था मिलाइएको राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले बताउनुभयो । ‘केन्द्रमा खाजाको समेत व्यवस्था गरिने योजना छ,’ उहाँले भन्नुभयो । 

ज्येष्ठ नागरिक लक्षित दिवा सेवा केन्द्र सञ्चालन कार्यक्रम नगरपालिकाभित्रका सबै वडामा विस्तार गर्ने लक्ष्य रहेको रहेको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।

‘उमेर, अनुभवले पाको समाजका सम्मानित ज्येष्ठ नागरिकहरुको हितलाई ध्यानमा राख्दै सुरुवातको चरणमा धमिलिकुवामा दिवा सेवा केन्द्र नमूनाको रुपमा सञ्चालन गरिएको छ । नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम विस्तार गर्ने लक्ष्य  छ । राइनास नगरपालिकाका ज्येष्ठ नागरिकहरु खुशी छन् भन्ने सन्देश देशभर पुर्याउने हाम्रो अभियान छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया