हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झर्दै

 असोज ७, २०७९ शुक्रबार १८:५०:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमालको काखैमा पुगेका लमजुङका भेडी गोठ बिस्तारै बेसी झर्न थालेका छन् । माथिल्लो क्षेत्रमा बिस्तारै चिसो बढ्ने, हिउँ पर्ने र पशुका लागि चरण अभाव हुने भएकाले बिस्तारै यहाँका घुम्ती गोठहरु बेसी झर्न सुरु गरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार असोजको पहिलो हप्तादेखि माथिल्लो क्षेत्रमा रहेका घुम्ती गोठहरु बेसी झर्न सुरु हुन्छ । कात्तिक मसान्तसम्ममा सबै गोठ बेसी झरिसक्छन् । ‘चिसो मौसम सुरु भएसँगै माथि(लेक)मा चरणको अभाव हुने भएकाले यो समयमा घुम्ती गोठहरु बेसी सारिन्छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार चिसोमा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरणको अभाव हुनुका साथै भेडी गोठालालाई पनि बस्न असहज हुन्छ ।

‘गर्मी मौसममा लेक उक्लेका घुम्ती गोठहरु चिसोमा बेसी झर्छन्,’ उहाँले भन्नुभयो ।

जग्गाधनीलाई पैसा तिरेर, मल दिएर गोठालाहरुले बेसीमा रहेका जग्गामा घुम्ती गोठ राख्छन् ।

घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका गोठालाहरु बर्सेनी बौद्ध हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाललगायतका थुप्रै हिमालको काखैमा पुग्छन् ।

घुम्ती भेडीगोठहरु ४ हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने ३ हजार मिटर उचाइसम्म मात्रै पुग्छन् ।

बेसी सारिएका गोठ चैतदेखि बिस्तारै लेक उक्लन्छन् । जेठसम्ममा भेडी गोठ हिमालको काखैमा पुग्छन् । परम्परागत रुपमा घुम्ती गोठमा पशु पाल्ने परम्परा लमजुङमा अझै कायमै छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती गोठमा पशु पालिएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया