स्थानीय उत्पादनको बजारीकरणमा सघाउँदै राइनास, हाट बजारमा दशैँका लागि खसी–बोका

 असोज १३, २०७९ बिहिबार २०:२८:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिकामा दशैँ–तिहार लक्षित खसी–बोका हाट बजार सञ्चालन गरेको छ । स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाको नगर क्षेत्रका विभिन्न क्षेत्रमा हाट बजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित खसी–बोका खरिद/बिक्री भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो । 

हाट बजारमा बिक्री नभएका खसी–बोका नगरपालिकाले नै ढुवानी गरी बिक्रीका लागि पोखरा पठाइएको उहाँले बताउनुभयो । ‘हाट बजारबाट स्थानीयस्तरमा उत्पादित तीन सय हाराहारीमा खसी–बोका बिक्री गर्ने लक्ष्य छ । केही स्थानीयवासीले नै खरिद गरेका छन् । बाँकी रहेको खसी–बोकाकाे बजारीकरणका लागि नगरपालिकाले काठमाण्डाै, पोखरालगायतका ठाउँका व्यापारीसँग पहल गरिरहेको छ’, उहाँले भन्नुभयो । 

हाट बजारमा कृषि तथा पशुपालन उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यक्रमअन्तर्गत बिक्री भएका खसी–बोकाको प्रतिकेजी २० रुपैयाँका दरले सम्बन्धित किसानलाई नगद अनुदानसमेत प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँ–गाउँबाट किसानले खसी–बोका बिक्रीका लागि हाट बजार ल्याएका थिए । हाट बजारमा प्रतिकेजी ६ सय रुपैयाँका दरले खसी–बोका खरिद/बिक्री भइरहेको छ ।   

राइनासकाे पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक किरण पण्डितका अनुसार असोज १२ र १३ गते राइनास नगरपालिका ८ भेटघाट चोक र राइनास नगरपालिका १ बोराङ खोलामा खसी–बोका हाट बजार सञ्चालन गरिएको हो । असोज १४ र १५ गते भने कुसुण्डे बगैँचा र गौलीटार बगैँचामा खसी–बोका हाट बजार सञ्चालन गरिने उहाँले बताउनुभयो । 

किसानको उत्पादनको बजारीकरणका लागि हाट बजार सञ्चालन गरिनुका साथै उत्पादनमा आधारित अनुदान रकम वितरण कार्यले आफूहरूलाई प्रोत्साहन मिलेको राइनास नगरपालिका ८ का बाख्रा पालक किसान दुर्गाप्रसाद अधिकारीले बताउनुभयो ।

‘घरबाटै बिक्री गर्न समस्या हुन सक्थ्यो । हाट बजारमा खसी–बोका ल्याइ बिक्री गर्न पाइयो । उत्पादनमा आधारित नगद अनुदान पनि पाइयो । यसमा किसान खुसी छन् । यसले व्यावसायिक बाख्रापालनमा लाग्ने हौसला थपेको छ’, हाट बजारबाट एउटा खसी र बोका बिक्री गर्नुभएका किसान अधिकारीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया