अरुण तेस्रो : हाइटेन्सन लाइनको मुआब्जा नदिइ खाल्डो खन्न थालेपछि स्थानीयवासीले लखेटे

 असोज २८, २०७९ शुक्रबार २०:४२:४५ | नवीन गुरुङ
unn.prixa.net

स्थानीय र सरोकार समिति खाल्डाे खनिएकाे ठाउँ हेर्दै । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ अर्चलेका दुर्गाबहादुर चर्मकारको खेतमा मुआब्जा नै नदिइ अरुण तेस्रो ४०० केभी हाइटेन्सन लाइनको टावर राख्ने जग्गा खन्न थालेपछि स्थानीयले कामदारलाई शुक्रवार (आज) लखेटेका छन् ।

बिहीवार (हिजो) देखि चर्मकारको जग्गामा टावर राख्नका लागि एक्स्काभेटर लगाएर खाल्डो खन्न थालेपछि सबै अचम्ममा परे । स्थानीय जग्गाधनी चर्मकारलाई ललाइफकाइ अरुण तेस्रोका कर्मचारीले टावरका लागि खाल्डो खन्नका लागि लगाएको बालीनालीसमेत काट्न लगाएका थिए । 

अरुण तेस्रो हाइटेन्सन लाइनको टावर राख्ने खाल्डो खन्न थालेको जानकारी पाएपछि स्थानीयवासी र अरुण तेस्रो हाइटेन्सन लाइन सङ्घर्ष समितिका टोलीले शुक्रवार स्थलगत अवलोकन गर्दै कामदारलाई लखेटेका छन् । अरुण तेस्रोले हाइटेन्सन लाइनको मुआब्जाको दर नै कायम नगरि टावरका लागि जग्गा कब्जा गर्न थालेको भन्दै स्थनीयवासीले कामदारलाई त्यस क्षेत्रबाट लखेटेका हुन् । अहिले त्यो ठाउँमा टावरको खाल्डो खन्ने काम रोकिएको छ । 

अरुण तेस्रोका कर्मचारी पटक–पटक आफ्नो घरमा आएर ललाइफकाइ गरेर लगाएको बालीनालीसमेत काट्न लगाएर खाल्डो खन्न थालेका दुर्गाबहादुरले बताउनुभयो । उहाँले के–के कागजमा सही छाप गराएर पछि तीन वर्षसम्म लगातार पैसा पाइरहने आश्वासन दिएका बताउनुभयो । सदरमुकाम खाँदबारीमा सिदार्थ बैंकमा गएर खाता खोलेपछि त्यहाँ पैसा हालिदिने बताएका चर्मकारको भनाइ छ । 

स्थानीय योगराज कटुवालले अरुण तेस्रोले मुआब्जा नै नदिइकन जग्गा कब्जा गर्न खोजेको बताउँदै आफूहरू विकास विरोधी नभएको तर जग्गाको उचित मुआब्जा दिएर मात्रै टावर राख्ने जग्गा खन्न थाल्नुपर्ने बताउनुभयो ।

स्थानीय जग्गाधनीको मागअनुसार अरुण तेस्रोले मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने अरुण तेस्रो ४०० केभी हाइटेन्सन लाइन सरोकार समितिका अध्यक्ष किशोरकुमार गुरुङले बताउनुभयो । उहाँले हाइटेन्सन लाइनको टावर बस्ने क्षेत्रको उचित मुआब्जा निर्धारण गरेपछि मात्रै काम थाल्नुपर्नेमा त्यसो नगरि काम सुरु गरेको देखेर आफू अच्चममा परेको बतााउनुभयो । सहमतिमा काम नभए जस्तोसुकै कदम चाल्न पनि स्थानीयवासी बाध्य हुने उहाँको भनाइ छ । 

अरुण तेस्रो हाइटेन्सनको मुआब्जा निर्धारण गर्न सरोकार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, अन्य सरोकार निकाय र अरुण तेस्रोलाई पटक–पटक ज्ञापनपत्र बुझाएको र छलफल गरे पनि बेवास्ता गरेको समितिको भनाइ छ ।

अरुण तेस्रोको पावर हाउस पुखुवादेखि दिदिङ, छयाङकुटीडाँडा हुँदै चिसोपानी गुम्बा, सशस्त्र क्याम्पबाट चेवाबेसी हुँदै भोजपुर–खोटाङ–सिरहा ढल्केबर लैजाने हाइटेन्सन लाइनमा पाँच सय ९७ वटा टावर निर्माण हुनेछ । सङ्खुवासभामा यो हाइटेन्सन लाइनमा चिचिला गाउँपालिकाभित्रका वडा नम्बर १, २ र ३ पर्छ भने खाँदबारी नगरपालिकाभित्रका वडा नम्बर ४, ३, २ र १ पर्छ । यो सात वटा वडाभित्रका झन्डै ६ सय घरधुरीको जग्गा पर्छ । सङ्खुवासभामा ५९ वटा टावर रहनेछ । 

यसैबीच सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रोको काममा मकालु गाउँपालिका–५ मा रहेको फ्याक्सिन्दामा बाँध र सुरुङ निर्माणको काम भइरहेको छ भने चिचिला गाउँपालिका–२ पुखुवामा पावर हाउस गृहको काम भइरहेको छ । भारतीय सजलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ । सन् २०२३ मा काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया