सर्लाही २ – महतो र यादवको मित्रवत् प्रतिस्पर्धामा एमालेका साहको पनि टक्कर

 कात्तिक २१, २०७९ सोमबार १७:१३:१६ | रामबाबु खड्का
unn.prixa.net

२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादव यस पटक पनि सर्लाही क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यादव र महतो दुवैले सत्तारूढ गठबन्धन दलबाट मित्रवत् रुपमा चुनावी प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिनुभएको हो ।

यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर तथा महतोले आफ्नै पार्टी लोसपाको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७० सालको दोस्रो संविधान सभाको चुनावमा यादव र महतो एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला सद्भावना पार्टीबाट उम्मेदवारी दिएका महतोलाई हराउँदै तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका यादव निर्वाचित हुनुभएको थियो ।

यादव २०७० र २०७४ को चुनावदेखि लगातार यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ । २०७० सालको दोस्रो संविधानसभा चुनावमा यादवसँग पराजित भएका महतो २०७४ सालको प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टी राजपा (राजपा)बाट उम्मेदवारी दिएका महतोले नेपाली कांग्रेसका पूर्व उपसभापति तथा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तराई मधेसबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनुभएका नेता महतो सर्लाहीबाट धेरै पटक मन्त्री हुनेको सूचीमा पर्नुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्री  र स्वास्थ्य मन्त्री बनिसक्नुभएको छ।

त्यसैगरी अर्का नेता यादव पनि धेरै पटक मन्त्री बनिसक्नु भएको छ । उहाँले कम्युनिष्ट पार्टीबाट राजनीतिका यात्रा अगाडि बढाउनु भएको हो भने महतो मधेस केन्द्रित दल सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएको हो ।

२०४८ सालमा विष्णु मानन्धरको पार्टी नेकपाबाट राजनीति यात्रा सुरु गरेका यादव पछि २०५१ सालको मध्यावधी चुनावमा नेकपा एमालेमा प्रवेश गरी चुनावमा उठ्नु भएको थियो । त्यसपछि लगातार सत्ता वरिपरि रहँदै आएका र २०६४ को मधेस आन्दोलनको नेतृत्व गर्दै मधेस केन्द्रित दलमा लागेका यादव पनि पटकपटक मन्त्री बनिसक्नु भएको छ ।

नेता यादव भौतिक तथा यातायात मन्त्री, सिंचाइ मन्त्री र उद्योग मन्त्री बनिसक्नु भएको छ । यादव र महतो तराई मधेसबाटै धेरै पटक मन्त्री बन्ने नेतामा पर्नुहुन्छ । उहाँहरु धेरै पटक मन्त्री भए पनि नागरिकले अपेक्षा गरे अनुसारको विकास निर्माणको काम गर्न नसकेकोले अरु राजनीति दलभन्दा फरक नरहेको वरिष्ठ अधिवक्ता बेनीबहादुर कार्कीको विश्लेषण छ ।

दुवै नेता जनता र विकास भन्दा पनि सत्ता प्राप्तिको स्वार्थमा लागेको कारण सर्लाही क्षेत्र नम्बर २ मा पर्ने सदरमुकाम मलंगवाको समेत विकास नभएको अधिवक्ता कार्कीको बुझाइ छ ।

दुवै नेताले क्षेत्रमा विकास गर्न नसकेको भन्दै यहाँका मतदाताले केही दिनअघि ‘नो सडक नो भोट’ भन्दै सडकमा प्रदर्शन गरेका थिए । तराईको ‘लाइफलाइन’ भनेर चिनिएको हुलाकी राजमार्ग निर्माणको काममा राजनीति दलका नेताले बेवास्ता गरेको कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पाचु चौधरीको भनाइ छ ।

नागरिकको जीवनमा सरोकार राख्ने हुलाकी सडक वर्षौंदेखि त्यतिकै अलपत्र हुँदा समेत नेताको ध्यान नगएकाले उम्मेदवारलाई गाउँ छिर्न नदिएको स्थानीय विलास रायको भनाइ छ ।

२०६४ को मधेस आन्दोलनपछि तराई मधेसमा उदाएका मधेसी जनअधिकार फोरम, नेपाल सदभावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी लमलोपा जस्ता मधेस केन्द्रित दलहरु सत्तामा जाने होडबाजीका कारण बेला बेलामा टुक्रिएर  ससाना दल बन्न पुगेका छन् ।

सत्तामा जाने स्वार्थको परिणामस्वरूप २०७० सालको दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजित भएका ती दलहरु पुनः दोस्रो मधेस आन्दोलनपछि भने पार्टी एकता गर्दै २०७४ मा भएको निर्वाचनमा मधेसमा ठूलै दल बन्न पुगेका थिए ।

सत्ता भित्र र बाहिर रहेका मधेसी केन्द्रित दलले यस पटकको चुनावमा अपेक्षा अनुसारको नतिजा ल्याउन नसक्ने पत्रकार शंकर श्रेष्ठको विश्लेषण छ । पार्टी भित्रको टुटफुट र नागरिकसँग विश्वास गुमाएका कारण मधेस केन्द्रित दलहरु साँघुरिँदै जाने श्रेष्ठको तर्क छ ।

गठबन्धन दलबाट मित्रवत् चुनावी प्रतिस्पर्धा गर्ने सहमतिमा टिकट लिएका महतो र यादवलाई पछि पर्दै चुनावी नतिजा हात लगाउने दाउमा एमालेका उम्मेदवार राजनारायण साह लाग्नु भएको छ । उहाँलाई विपक्षी गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)को सहयोग छ ।

२०६४ सालदेखि लगातार यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आउनु भएका साहले अहिलेसम्म चुनावी नतिजा हात पर्नु सक्नुभएको छैन । सर्लाही क्षेत्र नम्बर २ मा गणितीय हिसाबले सत्ता गठबन्धन दल बलियो देखिन्छ । तथापि गठबन्धन दलमा रहेको मुख्य शक्ति नेपाली कांग्रेसले स्थानीय चुनावमा पाएको मत नै निर्णायक बन्ने देखिएको छ ।

४९ वटा वडा रहेको क्षेत्र नम्बर २ मा पालिका चुनावमा जितेको वडालाई आधार मान्दा नेपाली कांग्रेसले २३, जनता समाजवादी पार्टी (जसपा)ले १३ ,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६, माओवादी केन्द्रले ३ , नेकपा एमालेले २ , एकीकृत समाजवादी पार्टीले १  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ वटा वडामा जितेका छन् ।

सत्ता गठबन्धन दलबाट चुनाव लडेका यादव र महतोसँग गणितीय हिसाबले ३३ वटा वडाको मत साथमा छ । तर, यो मत दुवै गठबन्धन दलका उम्मेद्वार यादव र महतोमध्ये कस्ले बढी पाउँछ यसै भन्न नसकिने विश्लेषक रजनीकान्त झाको विश्लेषण छ । विपक्षी गठबन्धन दल नेकपा एमालेसँग पनि वडालाई आधार मान्दा १६ वटा वडा सुरक्षित रहेकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने उहाँको तर्क छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया