बैतडी जीप दुर्घटना अपडेट : ज्यान गुमाउने चार प्रहरीको परिचय खुल्यो

 मंसिर ५, २०७९ सोमबार १०:५९:५८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा भएको दुर्घटनामा ज्यान गुमाएका चार जना प्रहरीको परिचय खुलेको छ। प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

लोकबहादुर, रमेश र बिर्खबहादुरको घटनास्थलमै ज्यान गएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको हो।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत् पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जीप बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोलामा दुर्घटनामा परेको थियोे । जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना रहेका थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्किँदै गरेको जीप बिहान ७ बजे दुर्घटनामा परेको हो ।

यसअघि ज्यान गुमाउनेकाे सङ्ख्या छ जना भएकाेमा सच्याइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया