तराईका धेरैजसो जिल्लामा कठ्याङ्ग्रिँदाे चिसो, शीतलहर अझै एक/दुई दिन लम्बिने

 पुष २२, २०७९ शुक्रबार ७:४२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराई मधेसका धेरैजसो जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यो अवस्था अझै एक/दुई दिन रहिरहने अनुमान गरिएको उहाँले बताउनुभयो ।

‘शीतलहरको पूर्वानुमान गर्न निकै कठिनाइ छ, त्यसैले यो कति दिनसम्म रहन्छ भनेर हामीले तोकेरै भन्न सकिने अवस्था छैन । तर, पछिल्लो अनुमानमा अझै एक/दुई दिन रहने देखिएको छ । यसपछि हामी फेरि पूर्वानुमान गरी जानकारी गराउने छौँ ’उहाँले भन्नुभयो ।

शीतलहर चलेका बेला बिहान, दिउँसाे र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदाे चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निस्सासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ । बिहानदेखि बेलुकासम्म नै बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । धेरैजसो विद्यालय पनि बन्द गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया