बाग्मती प्रदेश : मुख्यमन्त्री को ? सत्तारुढ दलका आआफ्नै अडान, राप्रपालाई फकाउँदै कांग्रेस र एकीकृत समाजवादी

 पुस २२, २०७९ शुक्रबार १०:९:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा यही पुस २५ गतेभित्र दुई वा दुईभन्दा धेरै दलको सहमतिमा सरकार बनाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै कसको सरकार बन्ला भन्ने चासो र अन्योल कायमै छ । बाग्मती प्रदेशमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) मिलेर सरकार बनाउने छलफल तीव्र छ । 

बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउने कांग्रेसलगायतका दलहरुको तयारी छ । तर केन्द्रको सत्ता गठबन्धन भित्र रहेका दलमा मुख्यमन्त्री बन्न आ–आफ्नै अडान छ। सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा आफ्नै नेतृत्वमा सरकार बनाउने अडान कायम राख्दा थप जटिलता बढेको छ । 

यही पुस २५ गते दिउँसो ४ बजे भित्रको समयसीमाले गर्दा सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् । केन्द्रमा नेताहरुका बीचमा सहमति होला र प्रदेशमा पनि सरकार बनाउँला भन्ने दाउमा रहेका दलहरुका बीचमा अहिले थप समस्या भएको छ । मुख्यमन्त्रीको अडान तीन दलका संसदीय दलका नेताहरुले छोडेका छैनन् । 

सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागबण्डा भइसकेको छैन । पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि मात्र केन्द्र तथा प्रदेशको भागबण्डा टुङ्ग्याउने तयारी भैरहेको थियो । त्यसअनुसार एमाले र माओवादीका नेताहरुले बाग्मतीमा सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए । तर प्रदेश प्रमुख शर्माले पुस २५ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभयो । बाग्मतीमा एमाले र माओवादी मात्र मिलेर सरकार बन्दैन । राप्रपाको समर्थन अनिवार्य छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गरेको छ । तर अहिलेसम्म राप्रपा सरकारमा सहभागी भैसकेको छैन । राप्रपा केन्द्र सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी रहनेछ ।

शीर्ष नेताको मुख ताक्दै मुख्यमन्त्रीका आकाङ्क्षीहरु

बाग्मती प्रदेशमा तीन जना मुख्यमन्त्रीका रुपमा आकाङ्क्षी छन् । उनीहरुले शीर्ष नेताको मुख ताकिरहेका छन् । प्रदेशमा दोस्रो ठूलो दल एमालेको मुख्यमन्त्रीमा बलियो दाबेदारी छ । तर भागबण्डा मिलाउँदा तलमाथि हुनसक्छ । एमालेले जगन्नाथ थपलियालाई दलको नेता चयन गरेको छ । माओवादीले अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई दलको नेता चयन गरेको छ ।

सरकार बनाउन निर्णायक रहेको राप्रपाबाट उद्धव थापा मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । ‘हामी सरकार बनाउन निर्णायक छौँ, सङ्घीय सरकारलाई समर्थन गरेका छौँ, सरकारमा गएका छैनौंँ,’ उहाँले भन्नुभयो ‘बाग्मतीको मुख्यमन्त्रीमा हाम्रो मुख्य दाबी हो ।’

कांग्रेस र एकीकृत समाजवादीको साथ राप्रपालाई

बाग्मतीमा सत्ता गठबन्धनबाहेक कांग्रेस, राप्रपा र नेकपा (एकीकृत समाजवादी) को बहुमत पुग्ने अवस्था छ । त्यसअनुसार राप्रपालाई कांग्रेसले पनि नयाँ गठबन्धन निर्माण गरी मुख्यमन्त्री बन्न प्रस्ताव गरेको छ । ‘हामीले राप्रपालाई मुख्यमन्त्री दिएर प्रदेशमा नयाँ गठबन्धन गर्ने प्रयास गरिरहेका छौँ,’ कांग्रेसका एक सांसदले भनेका छन् । १ सय १० सदस्यीय बाग्मती प्रदेश सभामा कांग्रेस ३७, एमाले २३, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक छ । कांग्रेस र एकीकृत समाजवादीले राप्रपालाई मुख्यमन्त्रीमा समर्थन गरे पनि केन्द्रीय सरकारमा राप्रपा सहभागी भएन भने यो सम्भव छैन । केन्द्रको समीकरण नटुटेसम्म राप्रपाले बाग्मती प्रदेशमा कांग्रेसको समर्थनमा मुख्यमन्त्री पाउने सम्भावना निक्कै कम रहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया